काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पाँचवटा प्रदेशका धेरै स्थानमा वर्षा भइरहेको जनाएको छ। महाशाखाका अनुसार अहिले प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यसम्म वर्षा भइरहेको हो।
महाशाखाले आज बिहान जारी गरेको बुलेटिनअनुसार दिउँसो पनि प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
यस क्रममा प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षा तथा एक दुई स्थानमा धेरै भारी वर्षासमेत हुने सम्भावना महाशाखाले जनाएको छ।
यसैगरी राति पनि प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा जराी रहने सम्भावना छ।
यस क्रममा प्रदेश १,प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षा र एक दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ।
बुलेटिनसँगै महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ : प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित भारी/धेरै भारी वर्षाको सम्भावना रहेकाले र उक्त प्रदेशका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।