सिमकोट । उच्च हिमाली जिल्ला हुम्लामा तीन दिनका लागी स्वास्थ्य शिविर सञ्चालन भएको छ । सिमकोट गाउँपालिका र जिल्ला अस्पताल हुम्लाको समन्वयमा गोर्खा आईल फियर टष्र्ट नामक संस्थाको आर्थिक सहयोगमा आँखा, नाक, कान, र अपाङ्गता भएका व्यक्तिहरुका लागि शिविर सञ्चालन भएको छ ।
हुम्लाका अतिविपन्न, गरीव, निमुखा तथा लक्षित वर्गका व्यक्तिहरुका लागि केही राहत होस भन्ने उदेश्यका साथ जिल्ला बाहिरबाट आएको टोलिले निशुल्क रुपमा शिविर सञ्चालन गरेको छ ।
शिविरमा आँखा, नाक, कान, र हात खुट्टामा समस्या भएको व्यक्तिहरुका लागि निशुल्क रुपमा औषधि उपचार गर्ने उदेश्यका साथ स्वास्थ्य शिविरका लागी जिल्ला पुगेको शिविर सञ्चालकका म्यानेजर जय लिम्बुले बताउनुभयो ।
यो शिविर भदौ १२ देखि १४ गते सम्म सञ्चालन गर्ने भनिएता पनि औषधि र उपकरण जिल्लामा समयमै नपुग्दा एक दिन ढिला गरी १५ गतेसम्म स्वास्थ्य शिविर सञ्चालन हुने म्यानेजर लिम्वुले बताउनुभयो ।
दुर्गम जिल्लाका नागरिक विरामी हुँदा आर्थिक अभावले थप उपचारका लागी जिल्ला बाहिर जान नसक्ने अवस्था रहेको बेला उनिहरुको सेवाका लागी आफ्नो टोली निःशुल्क उपचार गर्नका लागी हुम्ला पुगेको उहाँले बताउनुभयो । हुम्लाका विरामीले उपचार गर्न जिल्ला बाहिर जानुपर्दा कम्तिमा रु एक लाख भन्दा बढी खर्च हुने गर्छ । जिल्लामै विभिन्न रोग सम्बन्धि स्वास्थ्य शिविर सञ्चालन भएपछि यहाँका नागरीक त्यो खर्च जोगिएको भन्दै खुसि व्यक्त गर्न थालेका छन् ।
स्वास्थ्य शिविरमा ५ जना विशेषज्ञ डाक्टर र २४ जना स्वास्थ्यकर्मी गरेर २८ जनाको टोलिले विभिन्न रोगका विरामीलाई सेवा दिईरहेको जिल्ला अस्पताल हुम्लाले जनाएको छ ।
शनिवारबाट सञ्चालन भएको शिविरमा पहिलो दिन मात्रै १ सय ३५ जनालाई सेवा दिएको जानकारी प्राप्त भएको छ ।
कान नसुन्नेलाई सभ नियन्त्रक, कानको समस्या भएका विरामीको अप्रेशन, आँखाको मोति विन्दु अप्रेसन, अपाङ्गता भएका व्यक्तिहरुलाई फिज थेरापी सँगै कृतिम अंगहरु प्रदान गरि सेवा दिने भएको लिम्वुले जानकारी दिनुभयो ।
शनिवार पहिलो दिन चंखेली र सर्केगाड गाउँपालिकाका स्थानीय सेवाग्राहीले सेवा लिएका छन । त्यस्तै दोस्रो दिन ताँजाकोट, अदानचुलि र खार्पुनाथ गाउँपालिका र तेस्रो दिन सिमकोट र नाम्खा गाउँपालिकाका नागरिकहरुले सेवा लिन पाउने भएको बताइएको छ ।
शिविरमा काडमाण्डौँ, नेपालगञ्ज र पोखराका स्वाथ्यकर्मी गरेर जम्मा २८ जना स्वास्थ्यकर्मीको टोली जिल्ला पुगेर सेवा दिइरहेको बताइएको छ ।
यस्तै स्वास्थ्य शिविरमा उपचार गर्नका आएका एक सय ७७ जनालाई कोरोना परीक्षण गरिएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिनुभयो । स्वास्थ्य शिविरमा आएका नागरीकको सुरुमा एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको र त्यस पछि उपचार गर्न पठाइएको सूचना अधिकारी फडोरले बताउनुभयाृे । एक सय ७७ जनालाई परिक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको थियो ।