काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सरकारले दार्चुला तुइन प्रकरण थामथुम पार्ने प्रयास गरेको आरोप लगाएको छ।
प्रवक्ता प्रदीप ज्ञवालीले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै ढिलो गरी छानबिन समितिले प्रतिवेदन बुझाए पनि प्रतिवेदन अस्पष्ट रहेको र सरकार घटनालाई थामथुम पार्ने प्रयासमा लागेको आरोप लगाएका हुन्।
‘आफ्ना नागरिक वेपत्ता पारिएको यति संवेदनशील घटनाका सम्बन्धमा भारतीय पक्षसँग जानकारी लिने, सोधपुछ गर्ने र आपत्ति जनाउने सामान्य औपचारिकता र कुटनीतिक पहल गर्न नसक्ने सरकारले नेपाली जनताको ध्यान यस घटनाबाट अन्यत्रै मोड्न खोजेको आशङ्का पैदा भएको छ।’ विज्ञप्तिमा उल्लेख गरिएको छ।
नागरिकको जीवनसँग जोडिएको यस्तो गम्भीर विषयमा सरकारले प्रदर्शन गरेको संवेदनहीनता र लाचारीप्रति खेद व्यक्त गर्दछौं भन्दै एमालेले घटनाको सत्यतथ्य सार्वजनिक गर्न, दोषीलाई कार्बाही र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न माग गरेको छ।
गत साउन १५ गते महाकाली नदी पार गर्ने क्रममा भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मीले तुइन चुँडाइदिएर जयसिंह धामी महाकाली नदीमा वेपत्ता भएको एक महिनाभन्दा बढी भएको छ । छानबिन समितिले एसएसबीको संलग्नता देखिएको भन्दै सरकारलाई प्रतिवेदन बुझाएको छ।