सिमकोट । निजामति सेवा दिवसको अवसरमा हुम्लाको बराहदल गुल्म रानिवनले वृक्षारोपण गरेको छ ।
नेपाली सेनाको बराहदल गुल्म रानिवन ब्यारेकले निजामती सेवा दिवसको अवसर पारेर वृक्षारोपण कार्यक्रम सञ्चालन गरेको हो ।
वन सम्पदाको संरक्षण एवम् जगेर्ना गर्दै वातावरणलाई दिगो योगदान दिने उदेश्यका साथ बराहदल गुल्म रानिवनले उक्त कार्यक्रम गरेको थियो । सैनिक र नागरिकको सम्वन्धलाई प्रगाड बनाई राख्ने भन्दै वृहत वृक्षारोपणको आयोजना गरिएको बराहदलका गुल्मपति गणेश खड्काले बताए ।
रानीवन व्यारेक भित्रको सार्वजनिक वनमा जनप्रतिनिधि र कर्मचारीको सहभागितामा सेनाले वृक्षारोपण कार्यक्रम गरेका थिए । उक्त बनमा विभिन्न जातको सल्लो र ओखरका बोर्टहरु रोपिएको बराह दलका गुल्मपति खड्काले जानकारी दिए ।
उनका अनुसार वृक्षारोपण कार्यक्रम अन्तरगत २ सय ६३ वटा बोर्टहरु मध्ये ३० वटा ओखर, ३० वटा रिठो, ५० वटा लेकवेशी सल्लो, ५० वटा लोकल सल्लो र अन्य विभिन्न जातका १ सय ३ वटा सल्लोका बोटहरु रोपिएको हो ।
त्यस्तै यसअघि पनि सरसफाई, धारा निर्माण, शौचालय निर्माण जस्ता सामाजिक कार्य गर्दै आएको र आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने बताइएको छ ।
वृक्षारोपण कार्यक्रममा बाहिरबाट गएको टोलिलाई बराहदल गुल्मका गुल्मपति गणेश खड्काले स्वागत गरेका थिए । कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य तथा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही, प्रदेश सभा सदस्य तथा पुर्वमन्त्री दल रावल, जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावत, जिल्ला न्यायाधीश जगतबहादुर पौडेल, सिमकोट गाउँपालिकाका उपाध्यक्ष बली रावत, सहायक प्रमुख जिल्ला अधिकारी दसरथ राई लगायतका पदाधिकारीको सहभागिता रहेको थियो ।
तस्विर सामाजिक सञ्जालबाट