सिमकोट । राष्ट्रिय प्रजातन्त्र पार्टीको जिल्ला अधिवेशनले युवा नेता विकास महतलाई जिल्ला पार्टी अध्यक्षमा सर्वसम्मतमा चयन गरेको छ ।
एकता अधिवेशनले अध्यक्ष महतको नेतृत्वमा २१ सदस्यीय जिल्ला कार्य समिति पनि सर्वसम्मत रुपमा चयन गरेको छ ।
केन्द्रीय पर्यवेक्षक एवं उक्त पार्टीका कर्णाली प्रदेशका उपाध्यक्ष जनक सिंह ठकुरीको उपस्थितिमा सम्पन्न भएको अधिवेशनले अध्यक्षमा महत, सहअध्यक्षमा हर्क बहादुर शाही, उपाध्यक्षमा कमला रावत, प्रेम रावत र नरेन्द्र शाहीलाई चयन गरेको छ ।
त्यस्तै कोषाध्यक्षमा जय रावत, सचिवमा तेज बहादुर रावत, सहसचिवमा नन्द रावत र हाँसु बुढा चयन भएको नवनिर्वाचित अध्यक्ष महतले जानकारी दिनुभयो ।
यसैगरि अधिवेशनबाट सदस्यमा फुन्जोक लामा, छापे ऐडी, दीपबहादुर शाही लगायत अन्य नौ जना चयन भएका छन् ।
यस्तै लाल बहादुर शाही, बृष बहादुर महत र निवर्तमान जिल्ला अध्यक्ष कालीबहादुर शाहीलाई वरिष्ठ सदस्यमा चयन गरिएको छ । पृथ्वी नारायण शाहको तस्विरमा माल्यार्पण गरेर अधिवेशनको उद्घाटन गरिएको थियो ।
एकता अधिवेशन कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष दल बहादुर रावल, नेकपा एकीकृत समाजवादीका प्रतिनिधि तिर्थराज रोकाया, पत्रकार महासंघ हुम्ला शाखाका अध्यक्ष राजन रावत लगायतले अधिवेशन सफलताको शुभकामना दिनुभएको थियो । दुई दिनसम्म सञ्चालन गर्ने भनिएको राप्रपा जिल्ला अधिवेशन नेतृत्व सर्वसम्म्त चयन भएपछि एकदिनमै सम्पन्न भएको निर्वाचन अधिकृतमा खटिनु भएका जिल्ला अदालत हुम्लाका बैतानिक वकिल राजन चन्दले जानकारी दिनुभयो ।