सिमकोट । उच्च हिमाली जिल्ला हुम्लामा लामो समय सम्मको कोरोना कहरले बन्द रहेका सामुदायिक तथा संस्थागत विद्यालय केही दिनयता देखि धमाधाम सञ्चालनमा आउन थालेका छन् । जिल्लामा कोरोना संक्रमणको दर शुन्य भएपछि जिल्लाका सातवटै गाउँपालिकाले आफ्ना मातहातमा रहेका शैक्षिक गतिविधी सञ्चालनमा ल्याउन थालेका हुन् । सातवटा गाउँपालिका रहेको हुम्लामा ६ वटा स्थानीय तहले शैक्षिक गतिविधि सञ्चालनमा ल्याईसकेका छन् । जिल्लाको सिमकोट, नाम्खा,खार्पुनाथ, ताँजकोट र अदानचुली गाउँपालिकाले पठनपाठन सञ्चालन गरीसकेका छन् ।
जिल्ला डिसिसिएसिमको भदौ १४ गते सोमबार बसेको बैठकले जिल्लाभरी रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई कोभिडको अवस्था हेरी शैक्षिक गतिविधि सञ्चालन गर्ने निर्णय गरेअनुसार हुम्लाका स्थानीय तहले विद्यालय पठनपाठन कार्यलाई अगाडी बढाउन थालेका हुन् ।
जिल्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिका र सदरमुकामसँग जोडिएको खार्पुनाथ गाउँपालिकाले आज आइतबार देखि पालिका मातहातमा रहेका विद्यालय सञ्चालनमा ल्याएका छन् ।
कोरोना संङ्क्रमण कम भएको निष्कर्ष निकाल्दै गाउँपालिकाका शिक्षा समितिको बैठकले पठन पाठन सञ्चालन गर्ने निर्णयको निर्देशन अनुसार आजबाट विद्यालय सञ्चालनमा ल्याएको मानसरोवर माध्यामिक विद्यालयका प्रधानध्यापक अमर बहादुर शाहीले जानकारी दिनुभयो । आजबाट यि दुईवटा गाउँपालिकाले विद्यार्थीको भौतिक उपस्थितीमै पठनपाठन सञ्चालन गरेका छन् ।
सिमकोट गाउँपालिकामा २८ वटा विद्यालय रहेका छन् । ति सबै विद्यालयहरुमा आजबाट पठनपाठन शुरुभएको छ । कक्षा ६ देखि कक्षा १२ सम्म पढाई हुने मानसरोवर माध्यामिक विद्यालयमा अन्य कक्षाहरुको पाठ्यपुस्तक पुगेको भएपनि कक्षा ९ का विद्यार्थीका लागी पुस्तक नपुगेको प्रधानध्यापक अमर अमर बहादुर शाहीले जानकारी दिनुभयो ।
लामोसमयको बन्द पछि आजबाट विद्यालय सञ्चालन भएर भौतिक उपस्थितीमै पठनपाठन हुँदा विद्यार्थीमा खुसि छाएको देखिएको उहाँले बताउनुभयो । सिमकोटमा मात्रै संस्थागत र निजी गरेर आठवटा विद्यालय रहेका छन् । सबै विद्यालयहरु आजबाट सञ्चालनमा आईसकेका छन् ।
खार्पुनाथ गाउँपालिकाले समेत आजबाट विद्यालय सञ्चालनमा ल्याईसकेको गाउँपालिका अध्यक्ष कर्ण रावलले जानकार दिनुभयो । विद्यार्थीको भौतिक उपस्थितीमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर विद्यालय सञ्चालनमा ल्याएको अध्यक्ष रावलले जानकारी दिनुभयो । खार्पुनाथ गाउँपालिकामा १७ वटा विद्यालय रहेका छन् ।
चार गाउँपालिकामा यसअघि पठनपाठन शुरु
जिल्ला उत्तरी क्षेत्रमा रहेको नाम्खा, दक्षिणी भेगमा रहेका अदाचुली, चंखेली र ताँजाकोट गाउँपालिकाले यस अघि नै विद्यालय सञ्चालनमा ल्याईसकेका छन् ।
नाम्खा गाउँपालिकाले आफ्ना मातहातमा रहेका १७ वटा विद्यालय भदौ २० गतेबाट विद्यालय सञ्चालनमा ल्याएर पठनपाठन सञ्चालन गरीसकेको छ । ताँजकोट गाउँपालिकामा १८ वटा विद्यालय रहेका छन् भने ती सबै विद्यालयमा पठनपाठन भईरहेको छ । यस्तै अदानचुली गाउँपालिकाले भदौ २२ गतेबाट आफ्ना मातहातमा रहेका विद्यालयमा नियमीत पठनपाठन गरीरहेको जानकारी प्राप्त भएको छ । अदानचुली गाउँपालिकामा २१ वटा विद्यालय रहेका छन् । यस्तै चंखेली गाउँपालिकामा रहेका विद्यालय भदौ २२ गतेबाट सञ्चालनमा आइसकेको जानकारी प्राप्त भएको छ ।
जिल्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिकाले आफ्ना पालिका भित्र रहेका ३२ वटा विद्यालय असोज १ गतेबाट सञ्चालनमा ल्याउने बताएको छ ।
हुम्लामा संस्थागत र सामुदायिक गरेर कुल एक सय ४८ विद्यालय विद्यालय रहेका छन् । त्यस मध्ये खार्पुनाथका १७, नाम्खाका १७, ताँजाकोट गाउँपालिकाका १८, सिमकोटमा २८, सर्केगाडमा ३२ र अदानचुली गाउँपालिकाका २१ वटा गरेर एक सय १५ वटा विद्यालयमा पठनपाठन सञ्चालन भईरहेको छ ।
अब हुम्लाको एक मात्रै सर्केगाड गाउँपालिकामा रहेका विद्यालयमा पठनपाठन हुन बाँकी रहेको छ ।
सिमकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अभिकृत उजिर रोकायाका अनुसार पठन–पाठन सुरु भएका सबै विद्यालयमा सुरक्षाका बिधि र सामाजिक दुरी कायम गरि पठन पाठन गरिएको छ । त्यसै गरि केही विद्यालयले सावुन पानीले हात धुने ब्यबस्था पनि गरेका छन् ।
यसअघि लामो समय बन्द रहेका जिल्लाभरका सामुदायिक तथा संस्थागत विद्यालयमा पूर्ण सावधानी अपनाएर पठन पाठन सुचारु गर्ने जिल्ला कोभिड संकट व्यवस्था केन्द्र (डीसीसीएमसी) ले निर्णय गरेको थियो ।
कोरोना संक्रमण केही कम भएको र विद्यालय खुलाउनु पर्ने माग सबैतिरबाट आइरहेको बेला केन्द्रले विद्यालय सञ्चालन गर्ने अनुमति दिएको हो ।
तस्विर दाने बोहरा