सिमकोट । हुम्लाका ठकुरी वस्तिहरुमा आजबाट गौरा पर्व शुरु भएको छ । विभिन्न चाडमध्ये विशेष धार्मिक महत्व बोकेको गौरा पर्व कहिले भाद्र शुक्ल पक्षमा पर्छ भने कहिले भाद्र कृष्ण पक्षमा पर्छ । सोही अनुसार नाम्खा गाउँपालिका बाहेक अन्य पालिकाका वडाहरुमा बसोवास गर्दै आएका ठकुरीहरुले आजबाट धुमधामका साथ गौरा पव मनाउने गर्दछन् । धार्मिक विधि तथा परम्पराअनुसार विभिन्न मठमन्दिर तथा घरमा ‘गौरा’ भित्र्याइँदै छ ।
व्रतालु महिलाले धान, साउँ, तिल, बेल र कुशसहितको पञ्च वनस्पति प्रयोग गरी गौरा भगवतीको प्रतिमा तयार पारी धार्मिक परम्पराअनुसार भित्र्याइने चलन रहेको सिमकोट गाउँपालिका वडा ७ डाडाफयाँ निवासी मन्दिर सिंहले जानकारी दिनुभयो ।
घर आसपासका खेतमा गई सामूहिक रुपमा महिलाहरुले फाग गीत गाउँदै गौरा भगवतीको प्रतिमा तयार पार्नुका साथै व्रतालु महिलाको सहभागितामा गौरा भित्र्याई सकेपछि महिलाले महेश्वर (शिव) र गौरी भगवतीको पूजाअर्चना गर्ने परम्परा रहेको सिंहले बताउनुभयो ।
लोग्ने मानिसले ढाल तरवार खेल्ने र व्रत बसेकी महिलाहरुले गीत गाउने, नयाँ कपडा र गहनामा सजिएर नाच्ने कार्यमा सहभागी हुने गर्छन् । गौरा पर्वमा विशेष गरी पहिलो दिन गौरा लिन ढाल तरबार नाच्दै पुरुष महिला मिलेर लिन जाने र दोस्रो दिन मन्दिरमा ल्याउने गरिन्छ ।
पूजा गर्दा अक्षताका रुपमा ‘बिरुडा’ (गहुँ, मास, गहत, गुराँस र कलौ) पाँच थरीका गेडागुडीको प्रयोग गरी पूजा गर्ने चलन रहेको खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष रुपा शाहीले बताउनुभयो ।
बिरुडालाई आफन्त, छरछिमेक तथा ईष्टमित्रका घरघरमा बाँडी गौरा र महेश्वरको प्रसादका रूपमा ग्रहण गर्ने परम्परा रहिआएको उहाँले बताउनुभयो ।
यसरी गौरा भित्र्याइ पूजाको काम सम्पन्न भएपछि महिला र पुरुष छुट्टाछुट्टै रुपमा गोलबन्द भई देउडा खेल खेलेर रमाइलो गर्ने चलन रहेको बताइएको छ ।
त्यस्तै भक्तालु महिलाले आज ठकुरी वस्तिमा रहेका शिव मन्दिरलगायतका मठ मन्दिरका साथै गौरा घरमा गौरा (भगवती) र महेश्वर (शिव) को पूजा गर्नमा व्यस्त देखिन्छन् ।
अनुकूल तिथिको अवसर पारेर यो पर्व विसर्जन गर्ने परम्परा रहेको स्थानीय अगुवाको भनाइ छ ।
पौराणिककालमा हिमालयकी सुपुत्री पार्वतीले भगवान शिवलाई पतिको रुपमा पाउन गरिएको उपहासको फलस्वरुप पार्वतीको मनोकांक्षा पूरा भएकाले सोही बेलादेखि गौरा पर्व मनाउने गरिएको किम्वदन्ती छ ।