सिमकोट । सातवटा गाउँपालिका रहेको हुम्लाका ४४ वडामा राष्ट्रिय जनगणना २०७८ का लागि सुपरीवेक्षक गाउँ गाउँमा परिचालन गरी सूचीरकणको काम थालिएको छ ।
जनगणना कार्यालय हुम्लाले जिल्लाको सात स्थानीय तहका लागी २३ जना सुपरीवेक्षक परिचालन गरेर १२ औँ राष्ट्रिय जनगणनाको पहिलो चरणको काम सुरु गरेको कार्यालयका प्रमुख विनोद भट्टले जानकारी दिए ।
उनिहरुलाई भदौ ३० गतेबाट गाउँ गाउँमा परिचालन गरीएको भएपनि अहिले सम्म कोही सुपरीवेक्षक सँग सम्पर्क हुन नसकिरहेको प्रमुख भट्टले बताउनुभयो । सुपरीवेक्षक खटिएको हप्ता दिनसम्म भइसक्दा पनि दुई जनासँग मात्रै सम्पर्क भएको र अन्य सँग हुन नसकिरहेको उनले बताए ।
यही असोज १८ गतेसम्म पहिलो चरणको जनगणनाअन्तर्गत घर, परिवारलगायतको गणना हुने भएको छ । सुपरीवेक्षकले घरको विवरण, घरमूलीको नाम, पशुपक्षीको विवरण, बैंक खाता, ऋण, अनुदान पाए नपाएकोलगायत २० प्रश्न सोध्ने काम जारी रहेको भट्टले बताए ।
उहाँले भन्नुभयो, हुम्ला भौगोली हिवासकले विकट त छदै थियो, यो सँगै टेलिफोन र इन्टरनेटको समस्याका कारण गाउँगाउँमा परिचालन गरिएका सुपरीवेक्षकलाई तथ्यांक संकलनमा थप समस्या भएको भट्टको भनाई छ । भौगोलिक विकटता र इन्टरनेटको समस्याले तथ्यांक संकलनको काम प्रभावित भएको उनले गुनासो गरे ।
उनले भने, “सुपरीवेक्षकले घरघरमा गएर तथ्यांक संकलन गर्नुपर्छ, तर सबै ठाउँमा इन्टरनेटको पहुँच नहुँदा समस्या भएको छ, अहिले सम्म सिमकोट गाउँपालिकामा खटिएका एक जना र नाम्खा गाउँपालिका खटिएका एकजना गरी दुईजना सँग मात्रै सम्पर्क भईरहेको छ ।”
गणनामा परिचालित सुपरीवेक्षकहरुले मोबाईल एप प्रयोग गर्नुपर्ने र आफुले त्यसमा हेर्न मिल्ने भएको भएपनि अहिलेसम्म दुई जनाले मात्रै उक्त एपमा एक एक वडाको मात्रै अद्यावधिक विवरण अपलोड गरेको भएपनि अन्य वडाहरुको तथ्याङ्क उपलब्ध हुन नसकेको बताइएको छ ।
सूचीकरणका लागि अदानचुली,ताँजाकोट, चंखेली र खार्पुनाथ गाउँपालिकामा तीन जनाका दरले सुपरीवेक्षक खटाइएको छ । यस्तै सर्केगाडमा चार जना, सिमकोटमा पाँच जना र नाम्खा गाउँपालिकामा दुई जना गरेर २३ जना सुपरीवेक्षक खटाइएको छ । अक्सर बसोबासका आधारमा जनगणना गर्ने कार्य सुरु भएको उनले बताए ।
२०६८ सालको जनगणना अनुसार जिल्लाभर घरपरिवारको संख्या ९ हजार ४ सय ७९ रहेको थियो । भने जिल्लाको जनसंख्या ५० हजार ८ सय ५८ रहेको छ ।