सिमकोट । राष्ट्रिय प्रजातन्त्र पार्टी एकता भएपश्चात हुम्लामा पहिलो पटक पार्टी कार्यालय स्थापना गरीएको छ । केही दिनअगाडी एकता जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी हुम्लाले (बुधबार) आज सिमकोट माथिल्लो बजारमा आफ्नो पार्टी कार्यालय स्थापना गरेको छ ।
सिमकोट माथिल्लो बजारमा रहेको सूचना टोलमा सबैको पायक पर्ने स्थानमा पार्टी एकता पछिको पहिलो पटक पार्टी कार्यालय स्थापना गरीएको जिल्ला अध्यक्ष विकास महतले जानकारी दिए ।
२०४७ सालमा गठन भएदेखि राप्रपा पटक–पटक फुट्दै र जुट्दै आएको छ । जिल्ला अध्यक्ष महतले भने, “स्थानिय भनाई अनुसार बुधबार खेति गरे राम्रो हुन्छ भन्ने भनाईलाई अनुशरण गर्दै आज –बुधबार) पार्टी कार्यालय स्थापना गरीएको छ,” । राप्रपामा आएको टुट–फुटले पटक–पटकमा पार्टी कार्यालय स्थापना गर्नु पर्ने बाध्यताको अब अन्त हुने बिस्वास लिएको बताए ।
मुलुकमा गणतन्त्र स्थापना भएपछि समेत गणतान्त्रिक व्यवस्थालाई स्विकार्न आनाकानी गर्दै आएको राप्रपाले पछिल्लो समय राजसंस्थासहित हिन्दू राष्ट्र पुनर्सथापनाको विषयलाई अहिले आफ्नो मूल सिद्धान्त मान्दै आएको जिल्ला अध्यक्ष महतले बताए ।
यसअघि कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपति शमशेर राणा तथा डा. प्रकाशचन्द्र लोहनी संयुक्त अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको आ आफ्नै पार्टी कार्यालय रहेका थिए ।