सिमकोट। सिमकोट गाउँपालिका वडा ४ को स्याम्ने खोलामा रहेको काठे पुल बाढी पहिरोले बगाएपछि मानिस तथा पशुवस्तुलाई आवत जावतमा समस्या भएको छ ।
हेल्दुङ्ग साना जल विद्युतको आयोजनाबाट वितरित नहरको एक भाग भासिँदा स्याम्ने खोलामा रहेको काठेपुल बगाएपछि सिमकोट गाउँपालिका वडा १ र २ का स्थानीयलाई आवत जावतमा समस्या भएको छ । खोलामा पानी बढेँपछि ठेहे तथा दोजमका स्थानीय नागरिकलाई जिल्ला सदरमुकाम सिमकोटमा आवत जावतमा समस्या भएको हो ।
यतिवेला नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेट हुम्लाले खाद्यान्न वि िक्र वितरण गर्ने क्रममा सिमकोट जानु पर्दा दुईवटा वडाका स्थानीयलाई समस्या भएको छ ।
खोलाले बगाएको काठेपुल मर्मतका लागि सिमकोट गाउँपालिकाले स्थानीय कामदार लगाएर उक्त क्षेत्रमा काठेपुल पुनः मर्मत तथा निर्माण गर्ने काम गरिरहेको स्थानीय कामदार दन्तवीर सुनारले बताउनुभयो । उहाँका अनुसार काठेपुल निर्माणका लागि करिव ७० हजार नगद छुट्याएर १० जना कामदारहरुले काठे पुललाई पुनः निर्माण भइरहेको छ । तर त्यसले पर्याप्त नहुने कामदार सुनारको भनाइ रहेको छ ।
काठेपुल मात्रै नभई खोलाको आसपासमा पनि आवत जावत गर्न कठिनाई भएको सुनारले बताउनुभयो । दैनिक यस खोलामा वारपार गर्नेको संख्यामा वृद्धि भएको छ । त्यस्तै पशुवस्तुहरुलाई पनि घाँटीमा डोरी बाँधी मानिसहरुले वारपार गर्ने गरेका छन् ।
दुई वडाका स्थानीयलाई सदरमुकामबाट खाद्यान्नदेखि अन्य सम्पूर्ण सामाग्री लिनु पर्दा सोही खोला पार गर्नु पर्ने बाध्यता रहेको अर्का स्थानीय धन सुनारले बताउनुभयो । पुल निर्माणमा अझैँ केही समय लाग्ने कामदार सुनारले बताउनुभयो ।