सिमकोट । हुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकामा नेपाल टेलिकमको सेवामा खराबी आएको छ । विगत लामो समय देखि टारवमा खराबी देखिएपछि स्थानीय समस्यामा परेका छन् । अदानचुलीमा रहेको टावरले दैनिक १० घण्टा काम गर्न छाडे पछि सेवाग्राहीहरु डाँडाकाँडा धाउन बाध्य भएका छन ।
नेपाल टेलिकमले राखेका दुई ओटा र गाउँपालिकाको सीमाना जोडिएको मुगुको सोरुमा राखिएको टावरले काम गर्न छाडेपछि सेवाग्राहीले डाँडाकाँडा धाउन बाध्य भएका छन् । केही महिना यता ३ वटै टावरले बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म काम गर्न छाडेपछि दिउँसो अग्ला डाँडा र रुख चढ्न बाध्य भएको अदानचुली २ का सुमन बुढाले गुनासो पोख्नुभयो ।
अघिल्लो वर्ष पनि यस्तै समस्या आउँदा दुई महिना लगाएर सबै टावरहरू मर्मत गरिएको थियो । तर, यस वर्ष भने टेलिकमले कुनै ध्यान नदिएको अदानचुली २ को ढोगर्नामा राखिएको टावरका सुरक्षामा खटिएका चौकीदार नर बहादुर बोगटीले बताउनुभयो । हरेक वर्ष टावर बनाउन मर्मत टोली आउने गरे पनि समस्या समाधान हुन नसकेको उहाँले बताउनुभयो ।
मुगुको सोरु गाउँपालिका स्थित सोरुमा राखिएको टावरबाट फोर जि सेवा विस्तार गर्न लागेकोले नेटवर्कमा समस्या देखिएको नेपाल टेलिकमले जनाएको छ । हुम्लाको यस क्षेत्रमा नेटवर्क सम्बन्धी समस्या देखिएको ४ वर्ष पुगेको छ । तल्लो भेगका स्थानीयले घण्टौ हिडेर अग्लो डाडाँबाट फोन सम्पर्कमा जोडिने गरेका छन् । नेपालीहरुको महान पर्व दशैं तिहार लगायतका चाडपर्वमा शुभकामना आदानप्रदान गर्न समेत कठिनाई भएको बुढाले बताउनुभयो । अन्य सम्पर्कमा समेत समस्या बनाएको छ ।
सुबिधा सम्पन्न शहरहरुमा अध्यायन, रोजगारी तथा बिभिन्न कामको सिलसिलामा गएका आफन्तलाई फोन सम्पर्क गर्न अग्ला डाडा र रुखमा चढ्न बाध्य भएको बुढाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आफुले काठमाडौमा पढ्न गएका साथिभाइ र आफन्तसँग फोन गर्न खोज्दा दिउसो १ बजे बाट फोन डाएल गर्दै राती ११ बजे पछि बल्ल फोन लागेको भएपनि बढी कुरा गर्न सकिएन् ।’ राती फोन लागेपनि जम्मा ३,४ मिनेट मात्रै कुरा भयो । ’