सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक उपभोग्य वस्तुको मूल्य अप्रत्याशितरुपमा आकाशियको छ । नेपालगञ्ज, सुर्खेतबाट हवाई उडान निकै कम हुँदा सदरमुकाम सिमकोटमा दैनिक उपभोग्य वस्तु आयात नभएपछि मूल्य आकाशिएको हो ।
दशैँ यता देखि निजी एयरलाइन्सले यात्रु मात्रै ओसारि रहेका कारण सामाग्री आयात नहुँदा सिमकोटमा तेल, चिनी, बेसार,मसला तरकारी लगायत दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको छ ।
धारा तेलको रु दुई सय चासी पुगेको छ, भने स्वश्तिक तेलको रु एक सय ९० सम्म पुगेको छ । यसअघि सिमकोटमा धारा तेलको रु एक सय पचास र स्वश्तिक तेलको मूल्य एक सय चालीससम्म पर्ने गरेको थियो । दैनिक उपभोग्य वस्तुको मूल्य अप्रत्याशितरुपमा आकाशिय पछि उपभोक्ता ठूलो मारमा परेका छन् ।
हवाई माध्यामको भरमा सिमकोटमा ढुवानी हुँदै आएको दैनिक उपभोग्य वस्तु आयात नहुँदा यहाँका व्यापारीहरुले महंगो मूल्यमा विक्री गर्नुपरेको छ । उपभोक्ता चर्को मूल्य तिरेर भान्सामा प्रयोग हुने वस्तु खरिद गर्नु परेको छ ।
लामो समयसम्म जिल्ला बाहिरबाट सामाग्री आयात नहुँदा मूल्य बजारमा एकाएक आकाशियपछि उपभोक्ता मर्कामा परेका छन् । यसले गर्दा सिमकोटवासी सहित आसपास गाउँका बेरोजगारी अन्य सर्वसाधरण ज्यालामा काम गर्ने वर्ग बढी मारमा परेका छन् ।
राज्यको अनुगमन निकाय फितलो भएको कारण बजारको मूल्यमा व्यापारीले मनपरी गरेको उपभोक्ताको गुनासो छ । अनुगमन गर्ने सरकारी निकाय सक्रिय बनाउन नसक्दा उपभोक्ताले मर्का खेपिरहनु परेको अधिकारकर्मीहरुले जनाएका छन् । सिमकोटमा विगतको भन्दा यो साता दैनिक उपभोग्य वस्तुको मूल्य अप्रत्याशित वृद्धि भएको छ । हवाई जहाजले सामाग्री आयात नगर्दा एकाएक वृद्धि हुन थालेको छ ।