सिमकोट । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लामा सडक निर्माणको अवस्था बुझ्न जिल्ला पुगेको संघीय संसदको विकास तथा प्रविधि समितिको टोलीलाई यहाँका सातवटा राजनितीक दलले माग पत्र बुझाएका छन् । निमार्णाधिन कर्णाली करिडोरको हुम्ला सिमकोटदेखि सलीसल्ला खण्डको हेलिकोप्टरमार्फत बिहीबार अनुगमन गरेको हो ।
समितिकी सभापति कल्याणी गुरुङ खड्काको नेतृत्वमा आएको टोलिलाई हुम्ला जिल्लाका सात दलको तर्फबाट मागपत्र समेत बुझाएको हो । कर्णाली करिडोरको हुम्ला खण्डमा निर्माण कार्य भइरहेको भए पनि सदरमुकाम सिमकोट सडक सञ्जालले छुन अझै दुई वर्ष लाग्न सकिने हुम्लाका नागरिकहरुको आकलन रहेको छ ।
अनुगमन टोलीमा समितिका सभापति कल्याणी गुरुङ खड्काको नेतृत्वमा सदस्यहरू रंगमति शाही, यज्ञबहादुर सुनुवार लगायत थिए । उनीहरूले नेपाली सेनाको हेलिकोप्टरमार्फत अनुगमन गरेका हुन् । अनुगमन समितिमा सांसद, सचिवालयका कर्मचारी र नेपाली सेनाका उच्च अधिकारी थिए ।
सडक निर्माण सुस्त भएको गुनासो आएपछि संसदीय समितिले चासो देखाएको र कामलाई तिव्रता दिन उक्त टोली हुम्ला पुगेर फिर्ता भएको प्रमुख जिल्ला अधिकारी गणेश आर्चायले बताउनुभयो ।
हुम्लाको हिल्सा, लिमी, लाप्चा क्षेत्रको सडक निर्माणको अवस्था र बाँदरठेलामा सलीसल्लासम्म सडकको अवस्था उक्त टोलीले बुझेको छ । चंखेली गाउँपालिकाको लोती खोलामा निर्माण हुन लागेको पुल र हुम्ला खण्ड करिडोरमा पर्ने साना ठूला १८ वटा पक्की पुल निर्माण प्रगतिबारे पनि जानकारी लिएको छ ।
जिल्लाको निर्माण भई रहेको सडकको निर्माण कार्यको अवस्था अनुगमन गर्न टोली हुम्ला पुगेर फिर्ता भएको छ । करिडोरको हुम्ला खण्डमा नेपाली सेना र हिल्सा सिमकोट सडक आयोजनाले काम गर्दै आएको हिल्सा सडक आयोजनाका प्रमुख विसुन्दास लामाले बताउनुभयो ।
प्रमुख लामाले भन्नुभयो, “अधिकांस ट्याकमा ठूला–ठूला चट्टान भएकोले निर्माण कार्यमा ढिलाई हुनुका साथै, ब्लास्टिङ् मेटेरियल ल्याउने प्रकृयामा धेरै समय लाग्ने, उत्तरी नाका हिल्सा कोभिड १९ को काराण बन्द रहेकोले निर्माण सामग्री ल्याउन कठिनाई भएको छ ।”, उत्तर तर्फ मङ्सिरदेखि चैत सम्म हिमपात हुनेभएका कारण निर्माण कार्य बन्द रहने भएको बताउनुभयो । जलवायु परिवर्तनसँगै व्यमौषमी वर्षा हिमपातले सडक अवरुद्ध भएको सिमकोट बजार क्षेत्रमा ५ किलोमिटर एलाइन्टमेण्ट विवाद र क्षेतिपुर्ति मुआव्जा माग भई निर्माण कार्य अवरुद्ध भएको समस्या टोलिलाई दर्शाउनु भएको थियो ।
जिल्लाको विभिन्न भौलिक विकटताको समस्यालाई समेट्दै हुम्लाका सम्पुर्ण राजनितिक दलको तर्फबाट मागपत्र पेस गरेका छन् । उक्त माग पत्र पेश गर्दै नेकपा एमालेका जिल्ला अध्यक्ष दल रावलले जिल्लामा भएका विभिन्न समस्यालाई तत्काल समधान गर्ने अनुरोध गर्नु भएको थियो ।
निर्माण व्यवसायीलाई छिटो काम गर्ने वातावरण सृजना गरि निर्देशन गर्नु पर्ने, कर्णाली करिडोर यहि आर्थिक वर्ष भित्र प्रभावकारी रुपमा कार्यन्वयन गर्नु पर्ने, निर्माण हुन बाँकी पुलहरुको ठेक्का हुनु पर्ने, जस्ता समस्याको समाधान गर्न उक्त माग पत्रमा उल्लेख गरिएको छ ।
हुम्लामा भरखरै मात्रै आएका खाद्यान्न, विधुत, स्वास्थ्य, हवाई, र बाढी पहिरोबाट पीडित भएकाहरुलाई तत्काल सहयोगका लागि समेत अनुरोध गरिएको थियो ।
सात दलको माग अनुसार आफुले केन्द्रमा पहल गर्ने विकास बोर्डकी सभापति खड्काले आश्वासन दिनु भएको छ । टोलि हुम्लाको हिल्सा पुगेर जिल्ला बाहिर फिर्ता भएको छ ।