सिमकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही बाढी पहिरोले क्षेति गरेको स्थलगत अनुगमन गर्नका लागि हुम्ला पुग्नुभएको छ ।
गत कात्तिक पहिलो हप्ता परेको अविरल वर्षाबाट भएको क्षति अनुगमन गर्न आईतबार हुम्ला पुग्नुभएको हो । जिल्लाको खार्पुनाथ गाउँपालिका वडा २, र ५ मा बाढी पहिरोले पुर्याएको आइतबार अनुगमन गर्नुभएको हो । भने यस्तै अन्य सबै गाउँपालिकामा बाढीपहिरोले पुर्याएको क्षतिको हेलिकोप्टरबाट मुख्यमन्त्री शाहीले अनुगमन गर्नु हुनेभएको जानकारी प्राप्त भएको छ । मुख्यमन्त्री शाही आइतबार दिउँसो खार्पुनाथ गाउँपालिकाको अनुगमन पश्चात साँझ सिमकोटमा पुग्नुभएको हो ।
मुख्यमन्त्री शाही सुर्खेतबाट हेलिकप्टरमार्फत आइतबार हुम्ला पुगेसँगै खार्पुनाथ गाउँपालिका वडा २ स्थित थाली गाउँमा पहिरोले पुर्याएको क्षति अवलोकन गर्नुभएको हो । थाली गाउँमा स्थानीयका घर, खेतीपाती र खानेपानीका योजना समेतमा क्षति पुगेको छ ।
यो सँगै मुख्यमन्त्री शाहीले आफ्नै जन्मस्थलो वडा ५ खर्पेगाउँमा बाढीपहिरोले ६ जनाको ज्यान गएको गाउँमा पुगेर साँझ सिमकोट पुग्नुभएको हो । यस्तै आज सोमबार हेलिकोप्टरबाटै अदानचुली र ताँजाकोट गाउँपालिकामा पुगेको क्षतिको पनि मुख्यमन्त्री शाहीले अवलोकन गर्ने भएको प्रमुख जिल्ला अधिकारी गणेश आर्चायले बताउनुभयो । मुख्यमन्त्री भएपछि शाहीको यो पहिलो हुम्ला भ्रमण हो । हुम्ला मुख्यमन्त्री शाहीको गृह जिल्ला समेत हो ।
गत कात्तिक पहिलो हप्ता परेको अविरल वर्षाले जिल्लामा आठ करोडभन्दा बढीको क्षति पुगेको थियो । जिल्लामा क्षतिको विवरण आउने क्रम जारी रहेकाले क्षति अझै बढ्ने देखिएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिनुभयो ।
खार्पुनाथ गाउँपालिका वडा ५ खर्पेलगाउँमा अविरल वर्षाको कारण माटोको ढिस्को खसेर एक घर पुरिँदा दुई परिवारका ६ जनाको ज्यान गएको थियो ।