सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका वडा ५ दुर्पा गाउँमा रहेको सामुदायिक स्वास्थ्य इकाई साउन एक गतेबाट बन्द रहेको छ ।
प्रदेश माताहतमा रहेको उक्त स्वास्थ्य इकाईमा दुईजना कर्मचारीको दरबन्दी रहेपनि हाल कार्यरत कर्मचारीले तलब नपाउँदा उनिहरुले स्वास्थ्य संस्था छोडेपछि अहिले बन्द रहेको छ । साउन देखि बन्द रहेको उक्त स्वास्थ्य इकाईमा प्रदेश सरकारले तलब नपठाएपनि गाउँपालिकाले असोजबाट १ जना कर्मचारी नियुक्त गरेर सञ्चालनमा ल्याउने निर्णय गरेको भएपनि हालसम्म उक्त स्वास्थ्य संस्था बन्द रहेको स्थानीय जस बहादुर रोकायाले गुनासो गरे ।
झण्डै ४ महिना देखि सामुदायिक स्वास्थ्य इकाई बन्द हुँदा यहाँका नागरिक स्वास्थ्यको पहुँचबाट बन्चित हुनु परेको छ । स्वास्थ्य इकाई बन्द हुँदा दुर्पा गाउँका नागरीकले करिब एक घण्टाको पैदल हिडेर खर्पेगाउमा रहेको स्वास्थ्य चौकी र पालिका केन्द्रमा रहेको अस्पतालका साथै सदरमुकाम सिमकोटमा रहेको जिल्ला अस्पतालमा पुग्नुपर्ने बाध्यता रहेको स्थानीय रोकायाकाले गुनासो पोख्नुभयो ।
गाउँमा सामान्य विरामी हुँदा पनि एक घण्टाको पैदल हिडेर टाढा जानुपर्ने बाध्यता रहेको बताइएको छ ।
यसरी गाउँमा सञ्चालनमा आएको स्वास्थ्यचौकी बन्द हुँदा यहाँका सेवाग्राहीले सास्ति खेप्नुपरेको छ ।
यता गाउँपालिकाले वडा ५ दुर्पा गाउँमा रहेको स्वास्थ्य इकाई बन्द नहोस् भन्नका लागि वडा ५ खर्पेगाउमा रहेको स्वास्थ्यचौकीबाट १ जना कर्मचारी खटाएको बताएको छ ।
स्वास्थ्यचौकीको पहुँच भन्दा टाढा रहेका ६ वटा स्वास्थ्यचौकीका लागि प्रदेश सरकारले एक जना अहेब, एक जना अनमी गरेर ६ वटा इकाई सञ्चालनमा ल्याएको भएपनि उनिहरुलाई बेतवी बनेका छन् ।
अहिले प्रत्येक स्वास्थ्यचौकीबाट पायक पर्ने गरी एक–एक जना स्वास्थ्यकर्मी स्वास्थ्य इकाई बन्द नगर्नका लागि खटाएको गाउँपालिका अध्यक्ष कर्णले बताउनुभयो । दुर्पा गाउँमा रहेको स्वास्थ्य इकाईका लागि खर्पेगाउको स्वास्थ्यचौकीबाट एक जना कर्मचारी खटाएको भएपनि स्थानीयले कार्यालय सञ्चालनमा ल्याउन नदिएर फिर्ता पठाउने गरेको अधयक्ष रावलले बताए ।
गाउँकै हाल कार्यरत स्वास्थ्यकर्मीले प्रदेश माताहतको स्वास्थ्य इकाईबाट तलब नपाएर काम विहिन भएपछि स्थानीय आक्रोशित भएर कार्यालयको ताला खुलाउन नदिएको अध्यक्ष रावलले बताए । हाल कार्यरत स्वास्थ्यकर्मीलाई हटाएर नयाँ कर्मचारी ल्याएको भन्दै दुर्पा गाउँका स्थान्ीयले स्वास्थ्य संस्था सञ्चालनमा ल्याउन नदिएको अध्यक्ष रावलको भनाई रहेको छ ।
स्वास्थ्यचौकीको पहुँच भन्दा टाढा रहेका दुर्पा, ताक्ला, लेख सेरिढिला, प्यूस लगायतका ६ बस्तिमा रहेका स्वास्थ्य इकाई केन्द्रमा कार्यरत १८ जना स्वास्थ्यकर्मीको रोजगारी गुमेको छ । प्रदेश सरकारले भवन निर्माण गरेर स्वास्थ्यकर्मी खटाएको भएपनि यो वर्षको साउन यता देखि तलब र बजेटको व्यवस्था नहुँदा १८ जना स्वास्थ्यकर्मी बेरोजगार हुनु परेको हो ।
अहिले ती ६ वटा स्वास्थ्य इकाई बन्द नगर्नका लागि प्रत्येक स्वास्थ्यचौकीबाट एक–एक जना स्वास्थ्यकर्मी कर्मचारी खटाएको अध्यक्ष रावलले बताउनुभयो ।
प्रदेश सरकारले भवन बनाएको भएपनि तलब नदिएपछि सञ्चालनमा आएका स्वास्थ्य इकाई बन्द हुन पुगेका हुन् । खार्पुनाथ गाउँपालिका मात्रै नभएर जिल्लाभरमा सञ्चालनमा आएका स्वास्थ्य इकाई बन्द रहेका छन् भने बन्द रहेका स्वास्थ्य इकाईमा कार्यरत स्वास्थ्यकर्मी बेरोजगार बनेका छन् ।