सिमकोट । हुम्लामा दुई चरणमा मतदाता नामावली संकलन हुने भएको छ । जिल्ला निर्वाचन कार्यालय हुम्लाले आजबाट ६ वटा गाउँपालिका केन्द्रबाट छुटफुट रहेका नागरीकहरुको मतदाता नामावली संकलन सुरु गरेको छ ।
मतदाता नामावली कार्य आजबाट नियमित रुपमा सिमकोट गाउँपालिका बाहेक अन्य ६ वटा गाउँपालिकाको केन्द्रमा पुगेर दुई चरणमा संकलन गर्ने भएको निर्वाचन कार्यालय हुम्लाका निर्वाचन अधिकारी ओम प्रकास महत्वोले बताउनुभयो । हुम्लाका सातवटा गाउँपालिका मध्ये ६ वटा गाउँपालिका केन्द्रमा आजबाट करीव १० दिनसम्म मतदाता नामवली संकलन गरिने भएको छ ।
आजबाट सुरु भएको मतदातावली संकलन कार्य ताँजकोट, सर्केगाड र नाम्खा गाउँपालिकामा यहि २६ गते सम्म सम्पन्न हुनेभएको छ भने, दोस्रो चरणमा अदानचुली, चंखेली र खार्पुनाथ गाउँपालिकामा पौष ९ गते सम्म यो कार्य सम्पन्न भइसक्ने जानकारी प्राप्त भएको छ । सिमकोट गाउँपालिकाको लागि जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालय हुम्लाबाट नियमीत मतदाता नामावली संकलन गरिने भएको छ ।
मतदाता नामावली दर्ता संकलनको कार्यलाई प्रचलित कानून बमोजिम नियमित र व्यवस्थीत गरि स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन गरउन र कुनै पनि मतदान गर्न योग्य मतदाताहरु मतदाता नामावलीमा नछुटोस भन्ने उदेश्यका साथ यो कार्यक्रम सञ्चालन हुने भएको अधिकारी महत्वोले बताउनुभयो ।
जिल्ला स्तरीय कार्यक्रम व्यवस्थापन तथा अनुगमन समितिमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पाँच सदसीय व्यवस्थापन तथा सञ्चालन समिति रहने भएको छ भने गाउँपालिका केन्द्रमा गाउँपालिका अध्यक्षको संयोकत्वमा सात सदसीय स्थानीय सहयोग, समन्वय तथा प्रचार प्रसार समिति रहने भएको छ । हुम्ला जिल्लाका ४४ वडामा हालसम्म ५२ वटा मतदान केन्द्र छन ।