काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले १४ औं महाधिवेशनमा पहिलो चरणमा सभापतिमा नजितेपछि दोस्रो चरणमा आफूलाई समर्थन गर्न भन्दै पहिलो चरणको सभापतिका प्रतिस्पर्धीलाई भेट्न घरघर पुगेका छन् ।
उनले मंगलबार बिहान प्रकाशमान सिंहलाई चाक्सीबारी पुगेर दोस्रो चरणमा आफूलाई समर्थन गर्न भनेका थिए भने बिहान साढे ११ बजे विमलेन्द्र निधि निवास वानेश्वरमा पुगेर समर्थन मागेका छन् ।
सिंहले देउवालाई नै समर्थन गर्ने जनाइसकेका छन् । निधिले भने कसलाई समर्थन गर्ने खुलाइसकेका छैनन् ।
सभापतिका अर्का प्रतिस्पर्धी शेखर कोइरालाले पनि निधिलाई फोन गरेर आफूलाई समर्थन गर्न आग्रह गरिसकेका छन्
१४ औं महाधिवेशन अन्तर्गत सोमबार भएको निर्वाचनमा देउवा, कोइराला र सिंहसहित विमलेन्द्र निधि र कल्याण गुरुङ प्रत्यासी थिए ।
पहिलो चरणमा देउवाले २२५८ मत पाएका छन् । त्यस्तै, कोइरालाले १७०२, निधिले २४९, सिंहले ३७१ र गुरुङले २२ मत पाएका छन् ।
अब दोस्रो चरणमा सबैभन्दा धेरै मत प्राप्त गर्ने देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ । दुवै नेताले आफ्नो पक्षमा बहुमत जुटाउने प्रयास थालेका हुन् । दुवैले आफूनिकटलाई मतदातालाई रिझाउन र नेताहरूलाई फकाउन परिचालन गरेका छन् ।