काठमाडौँ । पार्टीको नेतृत्वमा प्रतिस्पर्धाबाट अन्तिम समयमा बाहिरिएका वरिष्ठ नेता रामचन्द्र पौडेलले मंगलबार बिहान महाधिवेशन प्रतिनिधिहरूसँग भेटघाट तथा चियापान गरेका छन् । लैनचौरमा उनले बोलाएको चियापानमा प्रधानमन्त्री एवम् सभापतिका प्रत्यासी शेरबहादुर देउवा र सभापतिका अर्का प्रत्यासी शेखर कोइरालासमेत सहभागी थिए । सभापतिका अर्का प्रत्यासी प्रकाशमान सिंह भने चियापानमा गएनन् ।
पौडेलले गरेको चियापान कार्यक्रममा महाधिवेशन प्रतिनिधिहरूले पौडेलले कोइरालाको पक्षमा नखुल्दा पार्टीको नेतृत्व परिवर्तन हुन नसकेको भन्दै नाराबाजी गरेका थिए । ‘उहाँले नखुल्दा शेखर दा’लाई गाह्रो भयो, त्यसैले हामीले उहाँलाई सघाउन आग्रह गर्यौँ,’ एक महाधिवेशन प्रतिनिधिले भने ।
कार्यक्रममा पौडेलले सम्बोधन गर्न खोज्दा सहभागीले शेखर कोइरालाका नाममा हुटिङ गरेका थिए । उनीहरूले पौडेललाई नेतृत्व परिवर्तनका पक्षमा खुलिदिन आग्रह गरेका थिए । कतिपयले पौडेलले देउवासँग साँठगाँठ गरेको आरोप लगाएका थिए । पौडेलले बोल्दै गर्दा नेता शेखर कोइराला र मिनेन्द्र रिजाल कार्यक्रममा पुगे । सहभागीले झन् चर्को स्वरमा हुटिङ गरे ।
त्यसबीचमा रिजालले माइक खोसेर ‘तपाईंहरूले चाहेको नेता आउनुभएको छ, अब उहाँले नै सम्बोधन गर्नुहुन्छ, उहाँकै कुरा सुनौँ । केहीबेर शान्त बन्नुस् ।’
त्यसपछि शेखरले सम्बोधन गरे । ‘तपाईंहरूको साथ पाएर खुसी छु, हामी जित नजिक छौँ,’ कोइरालाले भनेका थिए, ‘तपाईंहरूको आत्माको विवेक प्रयोग गर्नुहोस् ।’
त्यसपछि बोलेका पौडेलले आफूले सबैको सम्मानकालागि चियापानको आयोजना गरेको भनेका थिए । उनले आफ्नो आत्माको आवाज सुनेर मतदान गर्न आग्रह गरे । कार्यक्रममा देउवाले पनि सम्बोधन गरे । सहभागीले देउवाविरुद्ध समेत नाराबाजी गरेका थिए ।