सिमकोट । हिमाली जिल्ला हुम्लामा शनिबार विहान पाँच बजेबाट हिमपात भईरहेको छ । विहानैबाट हिमपात हुँदा जिल्लाको जनजीवन प्रभावित भएको छ । सदरमुकाम सिमकोटमा दुई इन्चभन्दा बढी हिउँ जमिसकेको छ । भने उत्तरी भेगमा सदरमुकाम भन्दा बढी हिउँ जमेको बताइएको छ ।
उत्तरी हुम्ला अझै उच्च भेगमा पर्ने भएकाले यहाँ बाक्लो हिउँ जम्नुका साथै आवतजावतमा समेत थप कठिनाई हुने गरेको नाम्खा गाउँपालिका वडा १ गाडापारी गाउँका प्रशाश लामाले बताए । हिमपातका कारण चिसो अत्यधिक बढेको छ । यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हिमपातका कारण उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा, नारा, न्यालु लगायतमा आवतजावतमा थप कठिनाई भएको छ । एक गाउँबाट अर्को गाउँसम्मको आवतजावत रोकिएको छ । यस्तै सदरमुकाममा चहलपहल न्यून छ ।
उत्तरी नाम्खा गाउँपालिकामा जिल्ला सदरमुकामभन्दा बढी चिसो रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । यहाँको तापक्रम माइनस ८ डिग्री सेल्सियससम्म पुगेसँगै बिहान बेलुका बढी चिसो हुने गरेको छ ।
हिमपात हुँदा जिल्लाका दक्षिण क्षेत्रका किसानलाई फाइदा पुगेको छ । हिउँदे बाली गहुँ, जौ, खनजोत गर्ने समयमा हिमपात हुँदा सजिलो हुने भएको छ । यस पटकको हिमपातले जेठासी बालीलाई राम्रो गर्ने जानकारी प्राप्त भएको छ ।
शुक्रबार साँझ देखि जिल्लाको मौसममा फेरवदल आएसँगै शनिबार विहानबाट हिमपात भएको छ ।