सिमकोट । उच्च हिमाली जिल्ला हुम्लामा आइतबार साँझ देखि मौसमा फेरबल आएसँगै सोमबार विहानबाट निरन्तर हिमपात भईरहेको छ । आज विहानै देखि हिमपात हुँदा हुम्लाको जनजीवन प्रभावित बन्दै गएको छ । यहाँको तापक्रम माइनस ११ डिग्री सेलसियस चन्दा माथि पुगेको छ ।
हिमपातले सदरमुकाम सिमकोट देखि माथिको तापक्रम माइनस १५ डिग्री सेलसियससम्म पुगेपछि स्थानीयलाई घरबाहिर निस्कन समेत समस्या भएको छ । गएको तिन दिन देखि बादललाग्ने र सामान्य हिमपात हुने हुम्लामा आइतबार राती देखि निरन्तर हिमपात भएपछि अहिले सिमकोटमा बाक्लो हिउँ जमेको छ भने सिमकोट भन्दा उत्तरी क्षेत्रका गाउँमा २ फिट सम्म हिउँ जमेको बताइएको छ ।
हिमपातले जिल्ला सदरमुकाम सिमकोट देखि उत्तरी क्षेत्रका सबै गाउँको तापक्रम माइनस झरेको छ । हिजो राती देखि निरन्तर परेको हिमपातले जिल्लाको उत्तरी क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोट लगायतका गाउँहरुमा चिसो अत्याधिक बढेको छ ।
लगातारको हिमपातले उत्तरी छिमेकी देश चीनसँग सिमा जोडिएको नाम्खा गाउँपालिकाको लिमी र मुचुका बासिन्दालाई घरबाट बाहिर निस्कन समेत समस्या परेको नाम्खा गाउँपालिकाको मुचुका लाप्का लामाले जानकारी दिए । उनका अनुशार मुचुमा अहिलेसम्म झण्डै दुई फिट जती हिउँ जमेकाले घरबाट बाहिर निस्कीन समेत समस्या भएको छ ।
“हिउँले लिमि, मुचुको तापक्रम माइनस १५ माथि नाघेको छ ।” लामाले भने, “हिजो बेलुका देखि निरन्तर रुपमा हिउँ परेर चिसो ह्वात्तै बढेको छ । हिउँसँगैको हावाहुरीले घरबाट समेत बाहिर निस्कन पनि सकिएको छैन् ।” हिमपातसँगै बढेको जाडोले हुम्लाको उत्तरी क्षेत्रमा पशुवस्तुलाई समेत घरमै घाँस हालेर राखिएको छ ।
मङ्सिर महिना शुरु भएदेखि नै तापक्रम माइनसमा गएको सदरमुकाम सिमकोटमा यो हिमपातले चिसो अत्याधिक बढ्नुका साथै तापक्रम माइनस १० नाघेको जिल्ला प्रहरी कार्यालय हुम्ला श्रोतले जानकारी दिएको छ । यस वर्ष परेको हिमपातले अहिलेसम्म कुनै अप्रीय घटना नघटेपनि अत्याधिक चिसोले जनजीवन भने निकै प्रभावीत बनाएको छ । हिमपातले बढेको जाडोले जिल्लाका सुरक्षाकर्मीलाई ड्युटी गर्नमा समेत समस्या भएको जिल्ला प्रहरी ककार्यालय हुम्लाले जनाएको छ ।
हिमपातले दक्षिण क्षेत्रका किसान खुशी
लामो समयको खडेरी पश्चात आज परेको हिमपातले जिल्लाको दक्षिण क्षेत्रका किसान भने खुशी भएका छन् । पानी नपरेकाले बारीमा छरेको गहुँवाली उम्रन नसकेर किरा फट्यांग्राले सकाएको चिन्ता मानेका दक्षिण क्षेत्रका अदानचुली, ताँजकोट, चंखेली र सर्केगाढका स्थानीय खुशी भएको जानकारी प्राप्त भएको छ ।
हिउँ सँगै परेको पानीले जिल्लाको दक्षिण भेगमा कृषकलाई समेत केही आशा जगाएको अदानचुली ५ कर्गैका शिक्षक पृथ्वी शाहीले जानकारी दिए । यो पटक पानी त निकै कम परेको छ तर अव वर्षा शुरु हुने भयो भनेर आशा लागेको यस क्षेत्रका किसानले बताउने गरेका छन् । यो पटक परेको पानीले थोरै भएपनि पाखोमा छरेका गहुँलाई उमार्ने र उम्रेका गहुँलाई केही राहत गर्ने काम गरेको छ ।