खोटाङ : खोटाङको जन्तेढुंगा गाउँपालिका ५ चिसापानीका वडाध्यक्ष रामकुमार श्रेष्ठको निधन भएको छ। श्रेष्ठको ६४ बर्षको उमेरमा सोमबार राति १२ बजे घरमै निधन भएको कार्यबाहक वडाध्यक्ष धनबहादुर राईले जानकारी दिए।
मुटु रोगबाट पीडित श्रेष्ठको अघिल्लो वर्ष मुटुको भल्भ फेरिएको र अहिले औषधी सेवन गर्दै आएका थिए। ०४९ सालको पहिलो स्थानीय निकायको निर्वाचनमा उहाँ साविक चिसापानी गाविसको अध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएका थिए। २०५७ सालको जिल्ला अधिवेशनबाट क्षेत्रीय सभापति, २०६२ मा जिल्ला सदस्य तथा २०६७ र ७२ मा महाधिवेशन प्रतिनिधि भएका थिए।
यस्तै श्रेष्ठ २०७४ सालको स्थानीय तहको चुनावमा नेपाली कांग्रेसको तर्फबाट चिसापानीको वडाध्यक्षमा निर्वाचित भएका थिए।
श्रेष्ठको निधनप्रति नेपाली काँग्रेस खोटाङले पुस १३, १४ र १५ गते ३ दिन शोक मनाउँदै औपचारिक कार्यक्रम स्थगन गर्ने, १ दिन पार्टी कार्यालय बन्द गर्ने र कांग्रेसको झण्डा झुकाउने समेत निर्णय गरेको नेपाली कांग्रेस खोटाङका सभापति विष्णु कुमार राईले बताए।