प्रदेश २ को नामकरण र राजधानी टुङ्गो लगाउन समिति गठन

नेपालचेक सम्वादाता मंगलबार, पौष १३, २०७८

काठमाडौं : प्रदेश २ को नामकरण र राजधानी टुङ्गो लगाउन समिति गठन गरिएको छ। मंगलबार बसेको प्रदेशसभा बैठकमा सभामुख सरोजकुमार यादवको नेतृत्वमा १६ सदस्यीय समिति गठन गरिएको हो।

सभामुख यादवले प्रदेशसभा कार्यसञ्चालन पहिलो संसोधन नियमावली २०७५ को नियम ७३ (क) को उपनियम ९ र नियम ७३ (ख) को उपनियम ९ बमोजिम प्रदेशको नाम र राजधानीको प्रस्ताव अध्ययन गर्न दलीय सहमतिको आधारमा समिति गठन गरिएको जानकारी दिए।

समितिको उपसभापतिमा उपसभामुख उपमा देव छन् भने सदस्यहरूमा उपेन्द्र प्रसाद कुशवाहा, किशोरी साह कमल, जगत प्रसाद यादव, दिलीप कुमार साह, परमेश्‍वर साह, विन्देश्वर प्रसाद यादव, शत्रुधन महतो, शारदा देवी थापा, शिवचन्द्र चौधरी, शैलेन्द्र कुमार यादव, संजय कुमार यादव, सावित्री देवी साह, सुन्दर बहादुर विश्वकर्मा र सुरीता साह छन्।

यस समितिले प्रदेशको नामकरण र राजधानीका लागि प्रदेशसभामा पेस भएको प्रस्ताव अध्ययन गरी सरोकारवालाहरुसँग छलफल तथा अन्तरक्रिया गर्ने र प्रदेशसभामा निर्णयार्थ पेस गर्ने विषयलाई यकिन गरी प्रतिवेदन बुझाउने जनाइएको छ। यसका लागि समितिलाई १५ दिनको समयावधि दिएको छ।

समितिले आफ्नो कार्य सम्पादन गर्ने क्रममा प्रदेशसभा सदस्य तथा स्थानीय तहका पदाधिकारीसँग सहयोग लिन सक्ने सभामुख यादवले जनाए। प्रदेशको नामकरणका लागि ‘मधेस प्रदेश’, ‘मिथिला–भोजपुरा प्रदेश’, ‘जानकी प्रदेश’ र ‘मध्य मधेस प्रदेश’ प्रस्ताव प्रदेशसभामा पेस भएको छ।

त्यस्तै स्थायी राजधानीका लागि दुई वटा ठाउँबारे प्रस्ताव पेस भएको छ। राजधानीका लागि जनकपुरधाम र वीरगंजको नाम प्रस्ताव गरिएको छ। प्रदेशसभा बैठक भने अनिश्चितकालका लागि स्थगित गरिएको छ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]