हेटौंडा : मकवानपुरमा लागुऔषध ओसारपसार र खरिद बिक्री गर्ने फरक विधिहरु अपनाउन थालेको पाइएको छ।
लागुऔषध ओसारपसारको ट्रान्जिट प्वाइन्टको रुपमा रहेको मकवानपुरमा लागुऔषध ओसारपसार र बिक्री गर्नको लागि विभिन्न प्रकारको नयाँ विधिहरू अपनाउन थालेका हुन्।
जसमा मकवानपुर प्रहरीले तरकारीको बोराबाट ६९ किलो पाँचसय ग्राम लागुऔषध गाँजासहित काउली बोकेको अटोबाट ३ जनालाई पक्राउ गरेको छ।
हेटौंडा–१ स्थित पालुङ बसपार्कबाट प्रहरीले ना १ ह ७६३८ नम्बरको अटोमा काउलीको बोरा भित्र लुकाइछिपाई ल्याएको ६९ किलो ५०० ग्राम लागुऔषध गाँजा सहित ३ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा अटो चालक मकवानपुरको कैलाश गाउँपालिका–५ कटहरे घर भई हाल हेटौडा–७ कमाने बस्ने ३४ वर्षीय सिताराम मोक्तान, कैलाश–१ बस्ने ३३ वर्षीय अमर बहादुर गिरी र २६ वर्षीय ईन्द्रबहादुर मोक्तान रहेको मकवानपुर प्रहरीले जनाएको छ।