काठमाडौं । नेकपा एमालेको विवाद समाधान कार्यदलले सहमतिका लागि तयार गरिएको मस्यौदालाई अन्तिम रुप दिने भएका छन् । सिंहदरबारमा शुक्रबार बसेको कार्यदल बैठकमा मस्यौदामााथि दुवै पक्षको सुझाव समेटेर अन्तिम रुप दिन छलफल भएको कार्यदलका सदस्य रघुजी पन्तले जानकारी दिए ।
कार्यदलको मस्यौदाले अन्तिम रुप पाएपछि एमालेका अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधव कुमार नेपालसमक्ष पेश गरिने उनले बताए । उनले शुक्रबार नै मस्यौदालाई अन्तिम रुप दिने प्रयास भइरहेको जानकारी दिए ।
पार्टी एकतालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर केही बुँदामा थप धारणा राखेको र त्यसलाई समेटेर मस्यौदालाई अन्तिम रुप दिइने पन्तले बताए । त्यस्तै कार्यदलका सदस्य शंकर पोखरेलले सहमतिको प्रस्तावमाथि टुंगोमा पुग्नेगरी छलफल भइरहेको जानकारी दिए । एमालेको विवाद समाधानका लागि कार्यदल केही दिनदेखि निरन्तर छलफलमा छ । तर ठोस सहमति भने हुन सनेको छैन ।