सिमकोट । नेपाल विधुत प्राधिकरण कार्यालय हुम्लाले पहिलो पटक विद्युतीय (डिजिटल) भुक्तानी दिन सुरु गरेको छ । यसको उद्घाटनको पहिलो दिन आइतबार १५० जना सेवाग्राहीले सेवा लिएका छन् । नेपाल विधुत प्राधिकरण हिल्दुङ्ग वितरण केन्द्रले आइतबार एक कार्यक्रम गर्दै आफ्नो सेवालाई डिजिटल रुपमा बढाएपछि उक्त सेवा लिनेको घुइचो लागेको थियो ।
उद्घाटनकै पहिलो दिन डिजिटल रुपमा सेवा दिएको विधुत कार्यालयले रु १ लाख ७ हजार रुपैयाँ उठाउन सफल भएको कार्यालयका प्रमुख साजन ऐडीले बताए । प्रमुख ऐडीले भने, “नेपाल विधुत प्राधिकरण केन्द्रिय कार्यालयको प्राबधान अनुसार हुम्ला जिल्लामा पनि अवदेखि डिजिटल रुपमा सेवा दिन भनेपछि उक्त कार्य सञ्चालन गरिएको हो ।” कार्यालयले यस अघि उक्त सेवा दिँदा कागजी ढड्डामा रेकर्ड राख्ने गरेको थियो भने आइतबारबाट कम्प्युटर प्रयोगले बिल भुक्तानी सुचारु भएको छ ।
विगतमा कागजी प्रक्रियाबाट काम गर्नुपर्दा सेवाग्राही र कर्मचारी दुबैलाई दुःख र समस्या झनझटीलो हुने गर्दथ्यो भने अवदेखि यो प्रविधि लागु भएपछि निक्कै सहज हुने भएको वितरण केन्द्र हुम्ला श्रोतले बताएको छ । यो प्रविधि लागु गर्दा नेपाल भरिकै एकिकृत बिलिङ सिष्टम हुने भएको छ । अवदेखि विधुत प्राधिकरण केन्द्रिय कार्यालयले बिल महसुल छुट दिएमा हुम्लाका विधुत महसुल तिर्ने सेवाग्राही पनि सो सुविधाबाट लाभान्वित हुने भएका छन् ।
कार्यालयले यो कार्य पहिलो पटक सञ्चालन गरेको छ । पहिलो दिन नै यो सेवा लिनेको घुइचो लागेको प्रमुख ऐडीले बताए ।