सिमकोट । पछिल्लो समय देशभर कोरोनाको संक्रमण बढ्दै गएपछि हुम्लाको सिमकोट विमानस्थलमा हेल्थडेस्क र होल्डिङ सेन्टर स्थापना गरिएको छ । हुम्लाबाट अन्तर जिल्ला पुग्ने छोटो हवाई यात्राको माध्याम भएकाले विमानस्थलमा हेल्थडेस्क स्थापना गरिएको हो ।
सोमबार बिहानबाट सिमकोट विमानस्थलमा सिमकोट गाउँपालिका र स्वास्थ्य सेवा कार्यालयको समन्वयमा हेल्थडेस्क स्थापना गरिएको छ । प्रमुख जिल्ला अधिकारी गणेश आर्चायको संयोजकत्वमा बसेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन समितिको बैठकले जिल्लाका मुख्य सिमानाकामा हेल्थडेस्क स्थापना गर्ने निर्णय गरेका स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंहले जानकारी दिए ।
सिमकोटबाट बाहिरिने र भित्रिने सबै यात्रुहरुको तीन पुस्ते विवरण लिने र स्वास्थ्य चेकजाँच गर्ने कार्य सुरु भएको बताए । यसका लागि दुई जना स्वास्थ्यकर्मी खटाइएको पनि छ ।
अब चाँडै पैदल मार्गबाट जिल्ला भित्रिने दुई वटा नाका चंखेली गाउँपालिका– १ को मिमी र ताँजाकोट गाउँपालिका–१ को कवाडीमा पनि गाउँपालिकाको समन्वयमा हेल्थडेस्क र होल्डिङ सेन्टर स्थापना गर्ने तयारी भइरहेको प्रमुख सिंहले बताए ।