सिमकोट । जिल्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिका वडा ७ मा रहेको रोडिकोड स्वास्थ्य चौकीमा ६६ जना बालबालिकाले कोरोना भाइरस विरुद्धको मोडर्ना खोप लगाएका छन् ।
कोरोना विरुद्धको पहिलो मात्राको खोप लगाएका बालबालिकालाई दोस्रो मात्राको खोप दिन थालिएको रोडिकोड स्वास्थ्यचौकीका सिनियर अनमी दुर्गा शाही हमालले बताइन् । वडा ७ मा रहेका १२ देखि १७ वर्ष उमेर सम्मका १ सय ११ जना बालबालिकाले पहिलो मात्राको मोर्डना खोप लगाएको सिनियर अनमी शाहीले जानकारी दिइन् । ती मध्ये आज ६६ जनाले दोस्रो मात्राको मोडर्ना खोप लगाएको भएपनि बाँकीलाई भोली खोप दिइने भएको उनले बताइन् ।
भोलि बुधबारबाट बालबालिका सहित अन्य १८ वर्षभन्दा माथिका सर्वसाधरणलाई समेत भेरोसेल खोप दिइने भएको अनमी शाही हमालले बताइन् । मंगरबारदेखि पहिलो र दोस्रो मात्राको दुवै भेरोसेल खोप १८ वर्षभन्दाका लागि दिइने भएको छ ।
सर्केगाड गाउँपालिकाको वडा एक देखि आठसम्म खोप अभियान तीब्र पारिएको गाउँपालिकाको स्वास्थ्य शाखा श्रोतले जानकारी दिएको छ । गाउँघरमा बालबालिका देखि बृद्धबृद्धासम्म सबै नागरीकहरु खोप लगाउन निकै उत्साहित देखिने गरेको शाहीले बताइन् । विगत खोप लगाउन अनाकानी गरेपछि पछिल्लो समय खोप प्रति नागरीकको निकै आकर्षण बढेको उनले बताइन् ।
यस्तै जिल्लाका अन्य गाँपालिकाहरुमा समेत भेरोसेल, मोडर्ना, र कोभिशिल्ड खोप लगाउने अभियान तीब्र भएको स्वास्थ्य सेवा कार्यालय हुम्लाले जानकारी दिएको छ ।