सिमकोट । सातवटा स्थानीय तह रहेको हुम्लामा सिमकोट गाउँपालिकाले घरबहाल कर उठाउन सुरु गरेको छ । केही दिन अगाडी देखि सार्वजनिक सूचना जारी गर्दै घरबहाल कर उठाउन सुरु गरिएको हो ।
सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिकाले आलू आर्थिक वर्ष घरबहाल करबाट रु २० लाख रुपियाँ सङ्कलन गर्ने लक्ष राखेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत उजिर रोकायाले बताए । घरबहाल करको दर भने १० प्रतिशत निर्धारण गरिएको छ । आलू आर्थिक वर्षको कुल बजेट ४७ करोड २७ लाख ८६ हजार रुपियाँ रहेको सिमकोट गाउँपालिकाले आन्तरिक आय रु २० लाख उठाउने लक्ष राखेको छ भने यो लक्षमा समावेश गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।
सिमकोट गाउँपालिकाले आलू आर्थिक वर्ष अभियानकै रुपमा घरबहाल उठाउने भएको छ । सोही गाउँपालिका लेखा प्रमुख विशाल बोहराले भने, “गाउँपालिका भित्र रहेका सरकारी, गैरसरकारी संस्था, वित्तिय संस्था व्यवसायहरुबाट घरबहाल कर सठाउने कार्य सुरु भएको छ ।” सरोकारवाला पक्षसँग छलफल गरेपछि कर तिर्नुपर्ने व्यक्ति तथा संस्था उक्त कर तिर्न सहमत भएको उनले बताए ।
गाउँपालिका कर उठाउन सुरु गरेको पहिलो पटक चारवटा वित्तीय संस्थाले घरबहाल कर दाखिला गरेको लेखा प्रमुख बोहराले बताए । चालू आर्थिक वर्षमा ४० देखि ५० सरकारी कार्यालय, वित्तीय संस्था, गैरसरकारी र होटेल व्यवसायीबाट उक्त कर असुली हुने भएको छ ।
यस्तै सिमकोट गाउँपालिकाले दोस्रो चरणमा सबै व्यवसायी, व्यक्तिलाई पनि अनिवार्य रुपमा घरबहाल कर तिर्न प्रचारप्रसार गर्ने भएको छ । तेस्रो र चौथो चरणमा घरभाडामा दिने व्यक्तिसँग गाउँपालिकाले छलफल गर्ने भएको छ । यो वर्ष परीक्षणका क्रममा रहेकाले आर्थिक वर्ष २०७९÷८० देखि अनिवार्य गरिने गाउँपालिकाले बताएको छ । आन्तरिक स्रोतको आम्दानी निकै कम भएको सिमकोट गाउँपालिकामा घरबहाल कर सङ्कलन गर्न थालिएपछि गाउँपालिकाको आम्दानी समेत वृद्धि हुने भएको छ ।
यस्तै खार्पुनाथ गाउँपालिकाले चालू आर्थिक वर्षभित्रै सुरु गर्ने जानकारी दिएको छ । अन्य पाँचवटा गाउँपालिका नाम्खा, सर्केगाड, चंखेली, अदानचुली र ताँजकोटले चाडै सुरु गर्ने जनाएका छन् ।
नेपालको संविधानले घरबहाल करलाई स्थानीय तहको अधिकार क्षेत्रभिज्ञ पारेको छ । सोही बमोजीम अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ ले पनि घरबहाल करको सङ्कलन अधिकार स्थानीय तहलाई दिएको छ । सोही अधिकारलाई प्रयोग गरी गाउँपालिकाले आर्थिक ऐन बनाएर गाउँ सभाबाट पारित गरिसकेका छन् । घरबहाल कर स्थानीय तहको राजस्वको महत्वपूर्ण स्रोत मानिन्छ ।