सिमकोट । हुम्लाको अन्तर जिल्ला पुग्ने हवाई सेवा चारदिन देखि अवरुद्ध भएको छ । बिहिबार र शुक्रबार दुई दिन जिल्लामा भारी हिमपात हुँदा विमानस्थलमा बाक्लो हिउँ जमेका कारण हवाई यातायात अवरुद्ध भएको छ ।
विमानस्थलमा जमेको बाक्लो हिउँ शनिबारदेखि पन्छाउने कार्य सुरु गरिएको सिमकोट विमानस्थलले जानकारी दिएको छ । शनिबार विहानबाट हुम्लाको मौसममा सुधारआएसँगै दिउँसोबाट विमानस्थलको रनवेमा जमेको हिउँ पन्छाउन थालिएको हो ।
बिहिबारदेखि लगतार परेको साढे दुईफिट हिउँ जमेपछि जिल्लाको एक मात्रै विमानस्थल चारदिन देखि ठप्प भएको छ । शनिबारदेखि मौषममा सुधार आएपछि नागरिक उड्यन प्राधिकरण सिमकोट शाखा कार्यालयले आफ्नै गाडी प्रयोग गरेर हिउँ पन्छाउने कार्य सुरु गरेको हो ।
लगातारको हिमपातले चारदिनदेखि नेपालगञ्ज र सुर्खेतबाट हवाई सेवाले उडान भर्न नसकेको नागरिक उड्यन प्राधिकरण सिमकोट शाखा कार्यालय प्रबन्धक मोहन गिरीले बताए । सिमकोट विमानस्थलमा जमेको बाग्लो दुई फिट जमेको हिउँका कारण हवाई यातायात सञ्चालनमा आउन नसकेपछि बजारमा विभिन्न सामग्रिको समेत अभाव हुन थालेको स्थानीय उपभोक्ताहरुले बताउने गरेका छन् ।
नागरिक उड्यन प्राधिकरण सिमकोट शाखाको एक मात्रै गाडिले हिउँ पन्छाएर सकेपछि आज आइतबारबाट हवाई सेवा सञ्चालनमा आउन सक्ने भएको छ ।
सिमकोट विमानस्थल साढे सात सय मिटर लम्बाइ रहेको छ । शनिबार हिउँ फाल्ने कार्य पूरा भए पनि हवाई सेवा भने सुचारु हुन सकेको छैन । रन वेको हिउँ फाल्ने कार्य पूरा भए पनि पार्किङस्थलको हिउँ भने बाँकी नै छ । बाँकी हिउँ आइतबार फालिने भएको छ । दैनिक १५ वटासम्म उडान हुने सिमकोट विमानस्थलमा सीता, समिट, तारा र नेपाल एयरलाइन्सले उडान भर्दै आएका थिए ।
यस्तै हवाई सेवा अवरुद्ध हुँदा सिमकोटमा नेपालगञ्जबाट दैनिक दिन भित्रीने तरकारी, माछामासु, कुखुराको मासु लगायत ठप्प भएको छ ।