सिमकोट । सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चालु आर्थिक वर्षमा हुम्लाका ३९ वटा विद्यालय छनोट गरेको छ । जिल्लाबाट कार्यक्रमका लागि आवेदन दिएका विद्यालयमध्ये ३९ वटा छनोट भएको हो ।
विद्यालयको प्रस्तावना र कार्यालयबाट सिफारिस गरिएका कुल एक सय विद्यालयमध्ये ३९ वटा विद्यालयको प्रस्तावना कार्यक्रमका लागि स्वीकृत भएको शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख टिकल भट्टराईले बताए । हुम्लाबाट चार कोठे भवनका लागि सात वटा विद्यालय, दुई कोठे भवनका लागि १५ वटा, प्राविधिक धारतर्फ बाली विज्ञानको कक्षा सञ्चालनका लागि एक वटा र आईसीटी ल्याब व्यवस्थापनका लागि १६ वटा विद्यालय छानिएका छन् ।
कार्यक्रमले उपलब्ध गराउने अनुदान रकमअनुसार चारकोठे भवन निर्माणका लागि प्रतिविद्यालय रु ३६ लाख, दुई कोठे भवन निर्माणका लागि रु १८ लाख, आईसीटी ल्याब व्यवस्थापनका लागि रु ६ लाख ५० हजार, नयाँ प्राविधिक धार सञ्चालनका लागि ल्याब व्यवस्थापन तथा शिक्षण सहयोग अनुदान २८ लाख चार हजार ५७० रुपैयाँ रहेको छ ।
छनोट भएका सबै विद्यालयको लागि पाँच करोड ४६ लाख चार हजार ५७० रुपैयाँ विनियोजन गरिएको छ ।
कार्यक्रमका लागि नाम्खा गाउँपालिकाबाट बाली बिज्ञानतर्फ महाबौद्ध मावि, सोही विद्यालयका लागि आईसीटी ल्याब, खासरपानी आधारभूत विद्यालयका लागि दुईकोठे भवन, हिमालयन आविका लागि दुईकोठे भवन र बुद्ध आविका लागि आईसीटी ल्याव रहेका छन् ।
सिमकोट गाउँपालिकाका रलिङ, बालमन्दिर र कर्णाली मावि आईसीटी ल्याव, कालशील्ता आविका लागि चारकोठे भवन, हिमाली बहिरा तथा बौद्धिक अपांङका लागि दुईकोठे भवन, भीमसेन आविका लागि आईसीटी ल्याव र जनज्योति आविका लागि दुई कोठे भवन छनोटमा परेका छन् ।
त्यसैगरि खार्पुनाथ गाउँपालिकाका भानुभक्त र मष्टादेव आविका लागि दुई कोठे भवन, हुम्ला माविका लागि चार कोठे भवन, शंकर, सीता, मान्धारा र मालिका मावि आईसीटी ल्यावका लागि छनोटमा परेका छन् । सर्केगार्ड गाउँपालिकाका अंशुवर्मा र देवल आवि चारकोठे भवन, शारदा प्रावि दुईकोठे भवन र सरस्वती मावि तथा स्वयम्भू प्रावि आईसीटी ल्यावका लागि छनोटमा परेका छन् ।
चंखेली गाउँपालिकाको हिमालय मावि चार कोठे भवन, गणेश नवज्योति आवि दुई कोठे भवन, बालकल्याण र ज्ञानज्योति प्रावि दुई कोठे भवन तथा बालज्योजि आवि आईसीटी ल्यावका लागि छनोटमा परेका छन् ।
त्यस्तै अदानचुली गाउँपालिकाको सूर्योदय मावि चारकोठे भवन, हिमालचुली र थुममालिका आवि दुईकोठे भवन र जनप्रकाश आवि आईसीटी ल्यावका लागि छनोटमा परेका छन् ।
ताँजाकोट गाउँपालिकाको मदानदेव मावि चारकोठे भवन, जनप्रकाश र धर्मोदय दुई कोठे भवन तथा चन्द्रप्रकाश बुद्धि धावकास मावि आईसीटी ल्यावका लागि छनोट भएका छन् ।