सिमकोट । उच्च हिमाली जिल्ला हुम्लाको सिमकोट गाउँपालिका वडा १ र २ ठेहे गाउँमा चैतलो वर्ष रहेक वर्षको फागुन १२ गतेदेखि चैतलो पर्व सुरु भएको छ । विहिबारदेखि शुरुभएको यो पर्व परावूर्व कालदेखि मनाउँदै आएको स्थानीयवासीले बताएका छन् ।
ठेहे गाउँ नजिक रहेको खार्पुनाथ गाउँको हिमालबाट आएको एक राक्षसले फागुन १२ गतेकै दिन चैतलो (देउडा) खेलिरहेको समयमा एक महिलालाई भगाएर लगेपछि यो पर्व मनाउने चलन चलेको ६३ वर्षिय मैना बोहराले बताउनुभयो । परापूर्वकालमा फागुन १२ गतेकै दिन राक्षसले महिलालाई भगाएर लगेपछि त्यसलाई फकाएर महिलालाई फर्काउन पुरुषले चैतलो खेलिरहेकै समयमा फोहर कपडा लगाइ खरानी बोकेर छर्कदै जाने गर्दा राक्षस भुलिएको उहाँको भनाइ थियो ।
परम्परागत पहिरनमा रङ्गीचङ्गी कपडामा सजिएकी सुन्दर महिलालाई राक्षसले उठाएर लिने भएकाले यो पर्वमा माने नाच पनि गर्ने गरिन्छ । दुई दिनसम्म लाग्ने चैतलो पर्वमा विभिन्न किसिमका स्थानीय संस्कृतिका नृत्यसमेत गरिँदै आएको बोहोराले बताउनुभयो । यो पर्वको अन्तिम दिनमा महिलाको पुरानो गाडोले बनेको दौरा, लगाएर बोहरा भण्डारी दुई जातिले प्रतिष्पर्धाका रुपमा तरबार समातेर नाच देखाउने गरेको अर्का स्थानीयवासी कुम्मेर भण्डारीले जानकारी दिनुभयो ।
गाउँ नजिकमा रहेको पाइक पर्ने स्थानमा महिलाले सिङ्गारिएका पहिरन लगाएर जुहारी खेल्ने गर्दछन् भने थोत्रा कपाडा लगाएका पुरुषले खरानीका पोका बनाएर महिलाले गाइरहेको स्थानमा आएर राक्षसलाई भुलाउन नाच देखाउने गर्छन् । उक्त पर्वमा काठका सामग्रीबाट बनाइएको घोडा चडेर नृत्य पनि गरिन्छ । एक दुई दिन पैदल हिँडेर पनि यो पर्वमा रमाइलो हेर्न महिला र पुरुषले पुराना धातुका गहना लगाएर ठेहेमा आउँछन् । ठेहे गाउँमा मात्र मनाइने दुर्लभ पर्व पछिल्लो समय लामा समुदाय, अन्य गाउँ बस्तीमा रहेका क्षेत्री समुदायले चाडपर्वका रुपमा मनाउने गरेका छन् । केही वर्ष यतादेखि १२ गतेकै दिन जिल्ला सदरमुकाम सिमकोटमा पनि यो पर्र्व मनाउँदै आएइको छ ।
विशेष पर्वका रूपमा मनाइने चैतलो पर्व यहाँका महिलाले धुमधामका साथ मनाउने गर्दछन् । श्रीमानको मनोकांक्षा पूरा होस् भन्ने भाकल गर्दै उनीहरूले गाउँको सार्वजनिकस्थलमा गीत गाउँदै नाचेर यो पर्व मनाउछन् ।
चैतलो वर्षलाई यहाँका महिलाहरूले पीत वस्त्रधारण गरेर गाउँको सभास्थल ‘चौपाडी वा भुओखाडो’ मा सामूहिक गीतनाचका रूपमा खेल्ने गरिन्छ । वसन्तलाई स्वागत गर्ने पर्वका रूपमा पनि यसलाई मान्ने गरिन्छ । गाउँगाउँ, टोलटोलबाट पीत वस्त्रधारण गरेर विभिन्न प्रकारका गरगहना लगाई सामूहिक रूपमा खेल्ने गीतनाच नै ‘चैतलो’ हो ।
गाउँका सबैलाई पायक पर्ने ठाउँ जसलाई स्थानीय भाषामा ‘चौपाडी, सभाथाडो, भुओखाडो’ भनिन्छ, त्यस ठाउँमा जम्मा भएर ज्येष्ठताका आधारमा पक्तिबद्ध भई ‘बाह्र भाइ नौ दुर्गा भवानी’ को प्रस्तुतिलगायत ऋतुको बारेमा गुणगान गाउने र गीतनाच खेल्ने गरिन्छ ।