काठमाडौं । एमसीसी सम्झौतालाई संसद्बाट पारित गर्ने बारेमा बिवाद चलिरहेकै बेला चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका नेताहरुले एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भिडियो संवाद गरेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को विदेश विभागले नेपालका दुई नेता ओली र नेपालसँग कुराकानी भएको जनाएको हो ।
सीपीसीको विदेश विभाग प्रमुख सोङ्ग ताओले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए । एमाले अध्यक्ष ओलीसँग ताओले बुधबार भिडियो कलमार्फत् वार्ता गरेका हुन् ।
त्यस्तै चिनियाँ उपमन्त्री चेन झाओले वुधबार नै नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग पनि छलफल गरेका थिए ।
सीपीसीको विदेश विभागका अनुसार नेपाली नेताहरुसँग दुई देशको सम्बन्ध र पार्टीको सम्बन्धलाई लिएर कुराकानी भएको हो ।
एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग कुराकानी गरेका चेनले चीनले सधैं नेपालीहरुलाई स्वतन्त्र रुपमा नै विकासको मार्ग छान्नमा साथ र सहयोग गर्ने बताएका छन् ।