सिमकोट । हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिकाअन्तर्गत फुचा गाउँमा रहेको नीलकण्ठ आधारभूत विद्यालयको अवस्था दयनीय रहेको छ । झट्ट हेर्दा विद्यालयको जस्तापाता पानी चुहिने छन् भने कक्षाकोठाभित्र बसेर पढ्न नसकिने अवस्था रहेको छ । विद्यार्थी अहिले खाली चौरमा बसेर पढ्न बाध्य छन् । विद्यालयको भवन अति नै जीर्ण भएका कारण १६४ भन्दाबढी विद्यार्थीलाई खुला चौरमा राखेर पढाउन बाध्य भएको विद्यालयका प्रधानध्यापक ओमप्रसाद जैसीले बताए ।
सर्केगाड–८ फुचा गाउँमा ८० घरधुरीका परिवार बसोबास गर्दै आएका छन् । गाउँका बालबालिकाले अध्ययन गर्ने विद्यालय श्री नीलकण्ठ आधारभूत विद्यालय हो जहाँ करिब १६४ जना छात्रछात्रा अध्ययनरत छन् । विद्यालयमा बालविकास केन्द्रदेखि कक्षा ८ सम्म पढाई सञ्चालन हुँदै आएको छ ।
हुम्ला उच्च हिमाली जिल्ला भएका कारण यहाँ अत्यधिक वर्षा र हिउँदको समयमा बाक्लो हिउँ पर्ने गर्दछ । यस्तैमा स्कूलका कतिपय छतका जस्तापाता हिउँ र चीसोका कारण जीर्ण बनेर प्वाल नै परेका छन् । त्यही समयमा स्कूल नै बन्द गर्नुपर्ने अवस्था पनि आउने गर्दछ । हिमपात र पानी परिरहेका समयमा कक्षाकोठा भित्र पानी पसेर पढाउने अवस्था नभएको प्रधानध्यापक जैसीले बताए ।
जीर्ण रहेको विद्यालय मर्मतका लागि सम्बन्धित सरोकारवाला र स्थानीय सरकारलाई पटकपटक जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएका कारण अवस्था दयनीय बन्दै गइरहेको प्रधानाध्यापक जैसीले गुनासो पाखे ।
विद्यालयका चार भवनमध्ये दुई भवनका चार कोठामात्र राम्रो भएको र बाँकी सबै जीर्ण अवस्थामा छन् । जस्तापातामा पुरै खिया लागेर प्वाल परेको हुनाले घामपानी छेक्न नसक्ने भएकाले कारण विद्यार्थीलाई चौरमै राखेर पढाउनुपर्ने बाध्यता रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनवीर बुढाले बताए ।
विद्यालयको प्राङ्गणमा बालबालिकाले प्रयोग गर्ने चर्पीलगायत खानेपानीको धारासमेत नभएका कारण विद्यालय वरिपरि फोहर थुप्रिएको छ । त्यसका कारण विद्यार्थीले राम्रो शिक्षा पाउनुको साटो उनीहरुमा रोग फैलने खतरासमेत उब्जेको छ । दैनिक सबैभन्दा बढी आवश्यकपर्ने खोनपानीको थप समस्या भएको यहाँका विद्यार्थीलेसमेत गुनासो गरेका छन् ।
अझ यहाँका विद्यार्थीले विद्यालय पोशाक पनि लगाउन पाएका थिएनन् । कुनै सरोकारवालाको पनि ध्यान केन्द्रित नभएपछि, विद्यालय आफैँले स्रोत जुटाइ बाँकी शिक्षक, शिक्षिकाको तलबबाट केही प्रतिशत कटाइ करिब १६४ विद्यार्र्थीमध्ये १३३ छात्रछात्रालाई ट्र्याकसुट वितरण गरिएको प्रधानाध्यापक जैसीले बताए ।