सिमकोट । हुम्लामा म्यादी प्रहरी भर्ना प्रक्रिया अगाडी बढेको छ । स्थानीय तह निर्वाचन २०७९ को लागि चैत ६ गतेदखि ११ गतेसम्म भर्ना प्रक्रिया अगाडी बढाउन दर्खास्त आह्वान गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।
हुम्लाका लागी ४ सय १६ जना म्यादी प्रहरी भर्ना गर्नुपर्ने जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक हेरम्भ शर्माले बताउनुभयो । छनोटका मापदण्डसमेत निर्धारण गरिएको छ । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका कुनै पनि नेपाली नागरिकले दर्खास्त दिन सक्नेछन् । विशेषगरी पूर्व नेपाली सेना, प्रहरी तथा विगतमा पनि म्यादी प्रहरीको अनुभव बटुलेकाहरूलाई प्राथमिकतामा राखिने भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।
भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन । ४० दिनसम्मको मासिक ३० हजार २ सय ४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ । पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरिले खाद्यान्नवापत ७ हजार २००, पोशाक र अन्य खर्च गर्ने गरि ६ हजार, यातायात खर्चवापत एक हजार र बिमा सुविधासमेत उपलब्ध गराइने व्यवस्था गरिएको छ । छनोट प्रक्रिया भने १५ चैतबाट प्रारम्भ हुने र नतिजा २२ चैतसम्म प्रकाशन गरिने भएको छ भने २८ गतेबाट प्रशिक्षण सुरु हुने भएको हो ।