सिमकोट । नेपालगञ्ज–सुर्खेतबाट हुम्लाको लागि उडान भर्दै आएका विभिन्न निजी एयरलाइन्सले केही दिनदेखि आफ्नो फाइदालाई लक्षित गर्दै जिल्लामा कम उडान भरेर पूर्वमा उडान भर्न शुरु गरेका छन् । सुर्खेतबाट हुम्लाका लागि निजी एयरलाइन्सले कम उडान भरेपछि नियमीत उडानका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीलाई अनेरास्ववीयु जिल्ला कमिटी हुम्ला र अखिल अखिल क्रान्तिकारी जिल्ला कमिटी हुम्लाले ज्ञापन पत्र बुझाएको छ ।
मङ्गबार मुख्यमन्त्री कार्यालयमा पुगेर सुर्खेतबाट निजी एयरलाइन्सले नियमीत उडान गर्नुपर्ने माग गर्दै दुईवटा संयुक्त संगठनले ज्ञापन पत्र पेश गरेको सुर्खेतबाट अखिल क्रान्तिकारीका दानबिर बोहराले बताए । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको जिल्ला हुम्लाका यात्रुले सुर्खेतमा सास्ति खेपि रहनुपरेको छ । अन्तरजिल्ला पुग्ने यातायातको एक मात्रै हवाई यात्रा पनि विगत लामो समय देखि यात्रुलाई उडान नगर्दा सुर्खेतमा हुम्लीले विभिन्न किसिमको दुःख भोग्दै टिकट नपाएर हप्तौ दिनसम्म होटेलमा बास बस्दै आउनुपर्ने बाध्यता रहेको छ ।
प्रदेश राजधानी सुर्खेत विमानस्थलबाट फाट्फुट्ट उडान भएपनि हुम्लाका यात्रुलाई प्राथामिकता नदिँदा होटेलमा चर्को मुल्य तिर्नुका साथै सुर्खेत विमानस्थलमा अलपत्र अवस्थामा परेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । जिल्ला भित्रीन सुर्खेतमा रहेका हुम्लीले निजी एयरलाइन्सलाई बारम्बार आग्रह गर्दा पनि सुनुवाई नहुँदा यात्रुलाई नियमीत उडान गरिदिन पहल गरिदिनका लागि मुख्यमन्त्री शाही समक्ष माग गरेका हुन् । साथै चर्को भाडादर न्यूनिकरण गर्नको लागि मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय तथा माननिय मुख्यमन्त्री शाही समक्ष अखिल नेपाल राष्ट्रिय विद्यार्थी यूनियन जिल्ला कमिटी हुम्ला र अखिल क्रान्तिकारी जिल्ला कमिटी हुम्लाले संयुक्तरुपमा ज्ञापन पत्र पेश गरेका हुन् ।
सुर्खेतमा बसोबास गरिरहेका हुम्लीले जिल्ला पुग्न टिकट नपाएर सास्ति खेप्नुपरेको छ । निजी एयरलाइन्सको व्यापारिक स्वार्थका कारण जिल्ला भित्रिने जिल्लावासी र जिल्ला बाहिर सुर्खेत जान समस्या भएको छ । निजी एयरलाइन्सले उडानमा कमी ल्याएको छ भने पहुँचका आधारमा यात्रुलाई सुर्खेतमा टिकट वितरण भईरहेको बताइएको छ । आजभोली सुर्खेतबाट निजी हवाईजहाजले कम उडान गर्दा हुम्ला पुग्ने यात्रु टिकटका लागि भौतारिरहेका छन् । कहिले महँगो भाडा, कहिले जहाज टिकट नपाउने यो हुम्लीको समस्या नयाँ होइन ।