सिमकोट । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना प्रक्रिया सम्पन्न भएको छ । चैत ६ गतेबाट ११ गतेसम्मको अवधिमा खुलेको भर्नामा हुम्लामा ५२४ जनाको आवेदन परेको छ । स्थानीय तह निर्वाचन लागि ६ देखि ११ चैतसम्मका लागि खुलेको भर्ना प्रक्रियामा म्यादी प्रहरीमा सहभागी हुन उनीहरूले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक हेरम्भ शर्माले बताए । शुक्रबार आवेदन भर्नाको समयावधि सम्पन्न भएको हो । अन्य दिन भन्दा अन्तिम दिन शुक्रबार आउनेको संख्या बढी देखिएको थियो ।
प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक शर्माका अनुसार हुम्लाका लागि महिला पुरुष चार सय १६ जना म्यादी प्रहरी भर्ना गर्नुपर्ने हो । तर, यहाँ भर्नाको आह्वान गरेको मितीदेखि अन्तिम दिनसम्म पाँच सय २४ जनाको दरखास्त परेको छ । म्यादी प्रहरी माग गरेको कोटा भन्दा एक सय आठ जनाको बढी दरखास्त परेको हो । यस्तै महिला ९९ जना र पुरुष चार सय २५ जनाले म्यादी बन्नका लागी दरखास्त दिएको प्रहरी प्रमुख शर्माले बताए ।
प्रहरी नायब उपरीक्षक शर्माका अनुसार, १८ वर्षभन्दा माथि र ५४ वर्ष भन्दा तलाका सबै नागरिकले दरखास्त दिएको बताए । उनले भने, “हुम्लामा पूर्वनेपाली सेना, प्रहरीको दरखास्त कम परेको छ, विगतमा पनि म्यादी प्रहरीको अनुभव बटुलेका केही बढी देखिएका छन्, उनिहरुलाई प्रथामिकता दिइनेछ ।”
म्यादी ४० दिन मात्रै
आगामी निर्वाचनलाई लक्षित गरी भर्ना भएका म्यादी प्रहरीको कार्यअवधि ४० दिनको हुनेछ । त्यसका लागि मासिक रु ३० हजार दुई सय ४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ ।
प्रत्येक म्यादी प्रहरीले खाद्यान्न बापत सात हजार दुई सय ,पोसाक र अन्य खर्च गर्नेगरी ६ हजार रुपैयाँ, यातायात खर्चबापत एक हजार रुपैयाँ र बिमा सुविधा समेत उपलब्ध रहेको प्रहरी उपरिक्षक शर्माले बताए । म्यादी प्रहरीको लागी १३ चैतमा सम्पर्क मिति रहेको छ । यस्तै १५ देखि २२ चैतसम्म छनोट प्रक्रिया हुनेछ । २८ चैतभित्र उनीहरूको नतिजा आउन थाल्छ ।
कोरोना महामारीका कारण चीनसँगको सिमानाका हिल्सा दुई वर्ष यता बन्द हुम्दा हुम्लामा बेरोजगारी दर बढेको छ । गाउँमा रोजगारीका कुनै अवसर नभएपछि म्यादी प्रहरीको लागि दरखास्त दिनेको संख्या बढेको हो ।