मुख्यमन्त्री सहितको टोली हेलिकप्टर चढेर हुम्ला गएको प्रति आपत्ति जनाउँदै प्रतिपक्ष दल एमाले आज पनि कर्णाली प्रदेशसभामा बैठक अवरुद्ध गरेको छ । आइतबार प्रदेशसभाको जारी आठौँ अधिवेशन अन्तर्गतको १६ औँ बैठक पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कार्यसूचीमै प्रवेश गर्न नदिएर अवरुद्ध गरेको छ हो ।
बजेट प्रस्तुत भएको तीन साता बितिसक्दा पनि एमालेको अवरोधका कारण बजेट माथि छलफल हुन सकिरहेको छैन । आइतबारको बैठकमा पनि एमालेले आफूले उठाएको राजनीतिक मुद्दाबारे सरकारले चासो नदिएको भन्दै बैठक अवरुद्ध गरेको हो । प्रदेशसभा सांसद पदमबहादुर रोकायले पार्टीभित्रको विवाद समाधान नहुञ्जेलसम्म सदन चल्न नदिने अडान दोहोर्याए ।
रोकायाले संसद्मा मुख्यमन्त्री महेन्द्रबहादुर शाही शुक्रवार हेलिकप्टर चढेर हुम्ला गएको प्रति पनि आपत्ति जनाए । उनले भने, ‘ सङ्घीय सरकारले नदिएको अधिकार प्रयोग गरेर चीनको नाकासम्म हेलिकप्टरको प्रयोग गरेर मस्ती गरिरहेका छन्। एकातर्फ हामीले एक महिनासम्म संसद् अवरुद्ध गरिरहेका छौँ । सरकारको कुनै ध्यान छैन।’
साथै उनले रातो किताबमा एमालेका सांसदका योजना नपरेको समेत बताए । कुनै जिल्लामा अर्बौँ बजेट र कुनै जिल्लामा एउटै नहुने अवस्था रहेको बताए । यति मात्र हैन रोकायले आफ्नो पार्टी नीति,पद्धति अनुसार चल्ने भएकाले प्रदेशमा त्यही अनुसार चलेको दाबी गरे ।
झन्डै १४ मिनेट रोकायाले धारणा राखेपछि प्रतिपक्ष दल विगत जस्तै उभिरह्यो । सभामुख राजबहादुर शाहीले पटक–पटक आसनग्रहण गर्न अनुरोध गर्दा पनि एमालेले नटेरेपछि असार २९ गते दिउँसो २ बजेसम्मका लागि स्थगित गरे । यसरी एमालेले संसद् अवरुद्ध गरिरहँदा प्रदेश सरकारले ल्याएको बजेट अन्योलमा छ ।