सिमकोट । मुगु–हुम्ला लिंकरोडअन्तर्गत चंखेलीदेखि देउलीसम्मको ३० किलोमिटर सडक प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । बेलायत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको यहाँको सडक प्रदेश सरकारलाई हस्तारन्तरण गरिएको हो । ग्रामिण पहुँच कार्यक्रम (र्याप थ्री)ले बेलायत सरकारको सहयोगमा निर्माण सम्पन्न गरेको ३० किलो मिटर सडक हस्तारन्तरण गरिएको चंखेली गाउँपालिकाका अध्यक्ष धनलाल चौलागाईले जानकारी दिए । ग्रामीण पहुँच कार्यक्रमले निर्माण गरेको मध्ये ३० किलोमिटर सडक आइतबार कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरिएको हो ।
हुम्लाको चंखेली गाउँपालिका देखि मुगु सीमानाको देउली हुम्ला सडक खण्ड हस्तान्तरण गरिएको हो । मुगु सदरमुकामको गमगढीदेखि हुम्लाको चंखेली गाउँपालिका हुँदै देउली दार्मासम्म उत्कृष्ट तबरले सडक निर्माण गरि आइतबार हस्तारन्तरण गरिएको हो । यस्तै चंखेली गाउँपालिका वडा १,२, र ३ का नागरीकका साथै अन्य हुम्लीबासीले अबका दिनमा सहजैरुपमा गाडी मार्फत जिल्ला बाहिर आवतजावत गर्न पाउने भएका छन् । हुम्लाको दक्षिण भेगका नागरीकलाई आवतजावतमा सहजका साथै विरामीलाई समेत उपचारका लागि जिल्ला बाहिर लिन सहज हुनेभएको छ ।
कार्यक्रमले यसअघि निर्माण गरेको २६ किलोमिटर सडक सन् २०२० मा प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो । सडकको नियमित मर्मतसम्भार गर्ने गरी प्रदेश सरकारलाई बुझाइएको कार्यक्रमका परियोजना व्यवस्थापक विष्णुराम विष्टले बताए । उनका अनुसार चंखेलीदेखि हुम्लाको दार्मा देउलीसम्मको ३० किमि सडक पूरा गरी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको हो । सन् २०१८ देखि निर्माण सुरु गरिएको सडक निर्माणको काम सम्पन्न भएको छ ।
सडक निर्माणको काम भएपछि हुम्ला र मुगुका झण्डै दुई दर्जन बस्तीहरू सडक सञ्जालमा जोडिएको चंखेली गाउँपालिका उपाध्यक्ष चौलागाइले बताउनुभयो । स्थानीयलाई रोजगारी दिएर सडक निर्माण गर्दा विपन्न नागरिकले रोजगारीको अवसरसमेत पाएको ग्रामिण पहुँच कार्यक्रमले जानकारी दिएको छ ।