सिमकोट । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लाबाट अन्तर जिल्ला पुग्ने यातायातको साधन हवाई सेवा चारदिन देखि उडान ठप्प भएको छ । नेपालगञ्ज–सुर्खेतबाट हुम्लाको लागि उडान भर्दै आएका विभिन्न निजी एयरलाइन्सले केही दिनदेखि आफ्नो फाइदालाई लक्षित गर्दै जिल्लामा उडान ठप्प पारेर पूर्वमा उडान भरिहरको छ । जिल्लामा उडान भर्दै आएका सीता, समिट र तारा एयरले नाफामुखी आफु उडान भर्दा हुम्लाका यात्रुले सास्ति खेप्नु परेको छ ।
एयरलाइन्सको व्यापारिक स्वार्थका कारण जिल्लाबाहिर रहेका हुम्लीलाई जिल्ला भित्रिने जिल्लावासी र जिल्लामा कार्यरत कर्मचारी जिल्ला बाहिर जान समस्या भएको छ । निजी एयरलाइन्सले उडान ठप्प पारेका छन् ।
हुम्लीहरूले अहिले नेपालगञ्ज–सुर्खेतमा रहेका होटेलहरुमा चर्को भाडा होटेल भाडा तिरेर टिकटका लागि भौँतारिरहेका छन् । कहिले महँगो भाडा, कहिले जहाज टिकट नपाउने समस्या हुम्लीका लागि नयाँ होइन ।
यस्तै जिल्लामा रहेका विरामीलाई उपचार गर्न जिल्ला बाहिर जान समेत समस्या भएको छ । हुम्लामा उडान नहुँदा सम्बन्धित निकायको ध्यान जान नसकेको भन्दै हुम्ली नागरीकले आक्रोस व्यक्त गरेका छन् । नेपालगञ्जमा गर्मीसँगै चर्को होटेलभाडा तिर्नुपर्ने बाध्यता रहेको छ ।
नेपाल एयरलाइन्सले नेपालगञ्ज–हुम्लाको २१ हजार लियो भाडा
सरकारी स्वामित्वमा रहेको नेपाल वायु सेवा निगम, नेपाल एयरलाइन्सले नेपालगञ्जदेखि हुम्लाका लागि रु २१ हजार ५०० यात्रुबाट हवाई भाडा लिएको छ । सौलिएत उडान कम गरिरहेको नेपाल एयरलाइन्सले हुम्लाका लागि चाटर उडान भर्दै एक जना यात्रुबाट रु १६ हजार देखि २१ हजार ५०० टिकट भाडा लिने गरेको यात्रुले बताउने गरेका छन् । नेपाल एयरलाइन्सले नेपालगञ्जदेखि हुम्लाको लागि सौलियतमा रु ५ हजार ६०० लिँदै आएको भएपनि पछिल्ला केही दिनयता अन्य निजी एयरलाइन्सले उडान नगर्दा नेपाल एयरलाइन्सले चाटर्ड उडान भर्दै चर्को टिकट भाडा लिने गरेको हो ।
नेपालगञ्ज देखि अन्य निजी एयरलाइन्सले चाटर्ड उडान भर्दा रु ११ हजार ६०० सम्म चाडा लिने गरेका थिए । तर नेपाल एयरलाइन्सले एक्कासी भाडादर बढाउँदा हुम्ली नागरीक मारमा परेका छन् । यसरी चर्को टिकटभाडाले गर्दा गरिब,निमुखालाई थप समस्या बनाएको छ । राज्यले हुम्लालाई वास्ता नगरेको भन्दै यहाँका नागरीकले आक्रोश व्यक्त गरेका छन् ।
नेपालगञ्जमा यात्रु अलपत्र हुम्लाकै मूख्यमन्त्री र मन्त्रीको वेवास्ता
कर्णाली प्रदेश सरकारमा हुम्ला जिल्लाबाट प्रदेश सरकारको मूख्यमन्त्री र मन्त्री पद जिल्लाले पाएको छ । तर महिनौदेखि नेपालगञ्जमा यात्रुले टिकट नपाए अलपत्र पर्दासम्म प्रदेश सरकारको नेतृत्व गरिहरका मुख्यमन्त्री र मन्त्रीले वास्ता नगरेको भन्दै हुम्लाका नागरीकले गुनासो गरेका छन् । नेपालगञ्ज, सुर्खेतबाट हुम्लाका लागि नियमीत उडान गराउँन प्रदेश सरकारले कुनै चासो देखाएको छैन् ।
नाफामुखी उडान भर्ने निजी एयरलाइन्सलाई प्रदेश सरकार, मुख्यमन्त्री कार्यालय सुर्खेत र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले हुम्लाको लागि नियमीत उडान गराउनको लागि कुनै वास्ता नगरेको भन्दै नेपालगञ्जमा जहाजको पर्खाइमा भौतारी रहेका हुम्लीले गुनासो पोखेका छन् ।
हुम्ला मात्रै नभए कर्णाली प्रदेशका उच्च हिमाली जिल्लामा केही दिनयता हवाई उडान ठप्प हुँदै आएको छ । हुम्ला, मुगु, जुम्ला, र डोल्पामा नियमित रुपमा उडान गर्दै आएका तारा, समिट र सीता एयरलाइन्स पर्यटक बोक्न पूर्वतर्फ लागेपछि विमानस्थलमा बिरामी सर्वसाधारण र कर्मचारी लगायत यात्रुहरु अलपत्र परेका छन् ।
हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिन सकेको छैन् । भने अन्तरजिल्ला जोड्ने एक मात्रै हवाई सेवाको उडान आइतबारदेखि हुन नसकेको हो । उडान ठप्प हुँदा जिल्ला बाहिर जाने यात्रु सिमकोट विमानस्थलमै अलपत्रमा परेका छन् । भने नेपालगञ्ज र सुर्खेतबाट जिल्ला पुग्ने यात्रुलाई समेत चर्को होटेल भाडा तिरेर बस्नु पर्ने बाध्यता रहेको छ ।
निजी एयरलाइन्स पर्यटक ओसार्न लुक्ला, पोखरा, जोमसोम लगायत पर्यटकीय स्थानमा व्यस्त गएपछि कर्णालीका हिमाली जिल्लामा उडान हुन पाएको छैन ।
पर्यटक आउने मौसममा त निजी एयरलाइन्सले हुम्लालाई बेवास्ता गर्ने गरेको स्थानीय बासिन्दाहरूको गुनासो छ । निजी एयरलाइन्सले हुम्लामा दैनिक एक एक वटा उडान अनिवार्य गर्नुपर्ने नियम भए पनि उक्त नियमलाई उल्लंघन गरी उडान ठप्प गरेका छन् ।