सिमकोट । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बैशाख ४ गते हुम्लाको दुई स्थानमा हुने आमसभालाई संवोधन गर्न आइतबार जिल्ला आउनु हुने भएको छ ।
वैशाख ४ गते आइतबार पुर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्ष दलका नेता ओली हुुम्ला आउनु हुने भएको हो । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको प्रचार र पार्टीको जिल्लाको अवस्था बुझ्नका लागि अध्यक्ष ओली हुम्ला आउन लागेको नेकपा एमाले जिल्ला पार्टी सचिव तीर्थराज बोहराले बताउनुभयो ।
जिल्लाको तीन ठाउँमा अध्यक्ष ओलीले भ्रमण गर्ने भएपनि निर्वाचन केन्द्रीत दुई वटा वृहत आमसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
आइतबार बिहान हेलिकोप्टरबाट हुम्ला पुगे लगत्तै एमाले अध्यक्ष ओली पहिले उत्तरी नाम्खा गाउँपालिकाको लिमि क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको एमाले हुम्लाले जानकारी दिएको छ । लिमिका वासिन्दासँग भेटेर त्यसपछि नेपाल र चीनको सिमाना लोलुङजोङको हवाई अवलोकन गरेपछि अध्यक्ष ओलीले हुम्ला सदरमुकाम सिमकोटमा आयोजना हुने आमसभालाई सम्वोधन गर्ने कार्यक्रम छ ।
आइतबार सिमकोटको आमसभालाई गरेपश्चात अध्यक्ष ओलीले जिल्ला दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकामा हुने वृहत आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सदरमुकाम सिमकोटमा आइतबार हुने वहृत आमसभाको सम्पुर्ण तयारी पूरा भएको आयोजक कमिटीले जानकारी दिएको छ । सिमकोटमा तीनवटा स्वागतद्धार निर्माणका साथै मञ्च व्यवस्थापन, कार्यकर्ता आमन्तरण गर्ने देखि अन्य सम्पुर्ण तयारी पूरा भएको जिल्ला पार्टी सचिव बोहराले बताउनुभयो । आयोजक कमिटीले प्रचारप्रसार तीब्र पारेको छ । यस्तै सिमकोट , नाम्खा र खार्पुनाथ गरी तीनवटा गाउँपालिकामा रहेका नेता तथा कार्यकर्ता सिमकोट पुग्ने क्रम जारी रहेको बताइएको छ ।
दोस्रो पटक हुम्ला आउन लाग्नु भएका पार्टी अध्यक्ष ओलीको स्वागतका लागि विभिन्न सांस्कृतीक कार्यक्रमको तयारी पनि अन्तिम चरणमा पुगेको एमाले हुम्लाले जनाएको छ ।