मिल्यो एमाले विवाद, कार्यदलले गर्‍यो १० बुँदे सहमति (पत्रसहित)

नेपालचेक समचारदाता सोमबार, आषाढ २८, २०७८

काठमाडौं । सत्तारुढ नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच १० बुँदे सहमति भएको छ । आइतबार लगातार १४ घण्टासम्म चलेको छलफलपछि कार्यदलले पार्टी एकताका लागि १० बुँदे सहमति गरेको हो । यो सहमतिलाई सोमबार बोलाइएको स्थायी कमिटीको बैठक अनुमोदन गर्ने छ । दुबै पक्षका नेताहरु रहेको कार्यदलले सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा र सरकारबारे पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत एवं संस्थागत निर्णय अनुसार अगाडी बढ्ने सहमति गरेको छ ।

१० बुँदे सहमतिपत्रमा हस्ताक्षर गरिसकेको र त्यसलाई अब नेतृत्वसमक्ष पेश गर्ने एमाले प्रवक्ता समेत रहेका कार्यदल सदस्य प्रदीप ज्ञवालीले जानकारी दिए । सहमतिपत्रको पहिलो बुँदामा पार्टीभित्र देखिएको अन्तविरोधहरुलाई पार्टीभित्र समाधान गर्न सहमत भएको विषय राखिएको छ । सबैभन्दा बढी पेचिलो बनेको सर्वोच्चमा दायर रिटका बारेमा कार्यदलले संस्थागत निर्णय गरेर अघि बढ्ने सहमति कायम गरेको छ ।

प्रवक्ता ज्ञवालीले प्रतिनिधिसभाको विघटनसम्बन्धी सर्वोच्च अदालतमा बिचाराधीन मुद्दा र सरकारका सन्दर्भमा पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत एवं संस्थागत निर्णयका आधारमा हामी अघि बढ्ने जानकारी दिए । सहमतिपत्रमा माओवादी परित्याग गरेर एमाले प्रवेश गरेका नेताहरुलाई यसअघि दिइएको जिम्मेवारी नै कायम राख्ने उल्लेख गरिएको छ । त्यस्तै एमाले पुर्नजीवित गर्ने सर्वोच्चको फैसलापछि भएका सबै निर्णय बदर गर्ने सहमति समेत जुटेको छ ।

सहमतिपछि सोमबारका लागि बोलाइएको स्थायी कमिटि र मंगलबारका लागि बोलाइएको केन्द्रीय कमिटिको बैठक समेत बस्ने उपाध्यक्ष भीम रावलले जानकारी दिनुभयो । एमालेभित्रको विवाद मिलाउन सिंहदरबारस्थित अर्थमन्त्रालयमा बिहान ९ बजेदेखि बसेको बैठक राति १० बजे निश्कर्षमा पुगेको हो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]