सिमकोट । हुम्लामा सत्तारुढ गठनबन्धन नहुने भएको छ । यस अघि चैत २१ गते नेपाली कांग्रेस जिल्ला सभापति मोहनविक्रम सिंहको अध्यक्षतामा बसेको बैठकले तीनवटा निर्णय गर्दै आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने भनिएपनि बैशाख ५ गते बसेको सत्तारुढ तीन दलबीच चुनावी गठबन्धन नहुने भएको छ ।
चैत २१ गतेको सत्तारुढको बैठकले केन्द्र, प्रदेशको निर्देशन अनुसार हुम्लामा पनि गठनबन्धन गरेर अगाडी बढ्ने निर्णय गरेको थियो । चुनावी अभियानका क्रममा गाउँघरमा कार्यक्रम सञ्चालन गर्दा गठबन्धनलाई असर पर्ने गरी अभिव्यक्ति नदिने निर्णय गरिएको थियो ।
आज विहान नेपाली कांग्रेस पार्टी कार्यालयमा बसेको सत्ता गठबन्धनको बैठकपछि आ आफ्नै दलको बैठक सबेको थियो ।
स्थानीय तहको नेतृत्वको भागबन्डा नमिलेपछि हुम्लामा सत्तारुढ दलले स्वच्छ प्रतिस्पर्धा गर्ने सहमति गरेको नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष शिवराज शर्माले बताए ।
वार्तामा सहभागी दलका अनुसार तीन दलबीच भएको बैठक गाउँपालिका बाँडफाँटमा कुरा मिल्न नसकेपछि स्थानीय आवश्यकताका आधारमा समीकरण गर्ने निर्णय भएको छ ।
सोमबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरूले स्वच्छ प्रतिस्पर्धा गर्ने सहमति गरेको माओवादी केन्द्र हुम्लाका संयोजक डा. दीपेन्द्र रोकायाले जानकारी दिए ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गाउँपालिका बाँडफाँटमा कुरा नमिलेपछि बैठक उपलब्धिपूर्ण हुन नसकेको कांग्रेसका हुम्ला सभापति मोहनविक्रम सिंहले बताए ।
एकीकृत समाजवादीले राखेको कांग्रेस र माओवादीबीच तीन–तीन गाउँपालिका र एकीकृत समाजवादीलाई एक गाउँपालिका दिनुपर्ने प्रस्तावमा कांग्रेस सहमतिमा पुगे पनि माओवादीले मानेको र माओवादी चार वटा गाउँपालिका आफूले पाउनु पर्ने अडान राखेका कारण बैठकले भागबण्डा मिलाउन नसकेको हो ।
सातवटा स्थानीय तह रहेको हुम्लामा ०७४ को निर्वाचनमा माओवादीले चार पालिकाको अध्यक्ष, एक उपप्रमुख र १८ वडाध्यक्षसहित एकसय पदमा जितेको थियो । कांग्रेसले दुई गाउँपालिका प्रमुख, एक उपप्रमुख ११ वडाध्यक्षसहित ७६ पदमा जित्दा एमालेले एक पालिकाको अध्यक्ष, तीन उपाध्यक्ष र १० वडाध्यक्षसहित ५० पदमा चित्त बुझाएको थियो ।
चैत २१ गते सत्तारुढ तीन दलले गठबन्धन गर्ने निर्णय गरेको पत्र ।