सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको चंखेली गाउँपालिका वडा २ को महादेव माध्यमिक विद्यालयको मतदान केन्द्रमा बुधबार पुनः मतदान हुने भएको छ । गत शुक्रबार स्थगित भएको निर्वाचन बुधबार हुने हुम्लाका मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले जानकारी दिनुभयो ।
वैशाख ३० गते आधाभन्दा बढी मतदाताले मत खसाल्न नपाएको भन्दै उजुरी परेपछि आयोगले उक्त मतदान केन्द्रमा पुनः मतदान गराउन लागेको पौडेलले बताउनुभयो । भोलि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ ।
मतदानका लागि कर्मचारी र मतपत्र पठाइसकेको जानकारी प्राप्त भएको छ । निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । उक्त मतदान केन्द्रमा नौ सय तीन मतदाता रहेकोमा तीन सय ९० मत मात्रै खसेको थियो । गत शुक्रबार गठबन्ध र स्वतन्त्र उम्मेदवारका दुई पक्ष विच मतदानका क्रममा झडप भएको थियो ।