सिमकोट । कर्णाली कोरिडोर राजमार्गबाट भर्खर ट्रयाक खुलेको हुम्लाको सर्केगार्ड, चंखेली, अदानचुली र ताँजकोटमा स्थानीय ठगिन गरिनेका छन् ।
सडक सञ्जालले जोडिएसँगै यातायातमा केही सहज भएको हुम्लाको मध्ये र दक्षिण क्षेत्रमा लाइसेन्स, विलवुक नभएका मोटरसाइकलले गैर कानूनी रुपमा यात्रु सार्ने समस्या निकै बढ्दै गएको छ । जिल्लाको मध्ये र दक्षिण क्षेत्रका गाउँपालिकामा स्थानीयलाई मोटरसाइकबाट यातायातको सुविधा दिने फुटल सेवाको नाममा ठूलो ठगी शुरु भएको छ ।
जिल्लाको सर्केगार्ड, चंखेली, अदानचुली र ताँजकोट गाउँपालिकामा लाइसेन्स नभएका, हेल्मेट नलगाएका र एकै मोटरसाइकलमा तीन जनालाई चढाएर चर्को शुल्कमा यात्रु ओसारपसार गरिरहेका मोटरसाइकल चालकहरुले प्रदान गर्ने फुटल सेवाबाट निकै धेरै ठगिने गरेको त्यस क्षेत्रकाका यात्रुहरुले बताउने गरेका छन् ।
चंखेलीको सलिसल्लादेखि सर्केगाड, सलिसल्लादेखि चंखेलीसम्म स्थानीय यात्रुलाई ओसार्दै आएका फुटल व्यवसायीहरुले निकै जोखिमपूर्ण यात्रु ओसार्ने र यात्रुबाट चर्को भाडा असुल्ने गरेको यहाँका स्थानीयले गुनासो गरेका छन् । सलिसल्लादेखि ९ किलोमिटर दुरीको सर्केगाडको २ हजार रकम ति व्यवसायीले असुल्ने गरेका छन् भने दुई किलोमिटरको दूरीमा रहेका चंखेलीको एक हजारदेखि एक हजार पाँच सय रुपैयासम्म भाडा असुल्ने गरेको पाइएको छ ।
लाइसेन्स नभएका मोटरसाइकल चलाउने, विलबुक नगरेका मोटरसाइकल चालकले मनपरी तरिकाले भाडा असुल्दै यात्रुलाई निकै जोखिपूर्ण तवरले यात्रु ओसार्दा स्थानीय स्तरको दुर्घटनाको संख्यामा पनि वृद्धी भएको स्थानीय वासिन्दाको दावी छ । एकै मोटरसाइकलमा कच्ची रोडमा तीनजनालाई बोक्दा धेरै स्थानमा मोटरसाइकल लडाउने गरेका कारण थप समस्या हुने गरेको छ । हेलमेट समेत नलगाएका चालकले मनपरी तरिकाले ट्राफिक नियम विपरितका क्रियाकलापलाई स्थानीय सुरक्षा निकाय र प्रशासनले भने केहि नगरेको स्थानीय वासिन्दाले गुनासो गरेका छन् ।