सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटको खानेपानीमा मानिसका लागि प्रयोग गर्न अयोग्य जिवाणु कोलिफर्म र इकोली भेटिएको छ ।
सिमकोट बजार र वडा नम्बर ५ र ६ का लागि आर्पुती हुँदै आएको खानेपानी योजनाको मुहान, इन्टेक र धाराको पानी परीक्षण गर्ने क्रममा उक्त जिवाणु भेटिएको हो । सिमकोटमा खानेपानीको ल्याब परीक्षण गर्ने क्रममा कोलिफर्म र इकोली भेटिएको स्वास्थ्य सेवा कार्यालयका ल्याब इन्चार्ज भक्ती फडेराले बताउनुभयो ।
जुन जिवाणुमा मानिस र पशुको दिसाको किटाणु देखिएको हो । यसरी सिमकोटको पानीलाई यसअघि परीक्षण गरिएको थिएन । पहिलो पटक परीक्षण गर्दा सो जिवाणु देखिएको हो । त्यसैगरी सिमकोट–६ को मुग्रधाराको पानी परीक्षण गर्दा सो जिवाणु देखिएको थियो । यता पानी परीक्षण गर्ने स्वास्थ्यकर्मीको टोलीले वडा नम्बर ३ को लाङ्दु गाउँको खानेपानीको मुहानमा परीक्षण गर्दा नदेखिएको तर ब्यक्तिको घरको धारामा भने देखिएको जनाएको छ ।
सिमकोट गाउँपालिकाका स्वास्थ्य संयोजक नर भण्डारीले मानिसको लागि प्रयोग योग्य पानी नभएको कारण यसलाई उमालेर वा फिल्टर गरेर मात्र प्रयोग गर्न आग्रह गर्नुभयो ।
हाल सिमकोटमा झाडापखाला, टाईफाईड र आउ जस्ता रोगका बिरामी देखिनुको कारण उक्त पानीको प्रयोगले हुन सक्ने संयोजक भण्डारीले बताउनुभयो । उहाँका अनुसार खानेपानीको मुहान, इन्टेकको संरक्षण नगरी खुल्ला भएको कारण पानी दुषित भएको हुन सक्ने बताउनुभयो । खानेपानी आपूर्ती गर्दै आएको उपभोक्ता सहितलाई मुहान, इन्टेक धाराहरूको संरक्षण कार्य गर्नु पर्ने देखिएको हो ।
उक्त पानी आठ हजारभन्दा बढी जनसंख्याले प्रयाग गर्दै आएका छन् । शाखाले यसअघि फिक्स टिक मेशिनबाट ठेहे र डाँडाफया गाउँमा पानी परीक्षण गर्दा उक्त जिवाणु देखिएको भएपनि त्यति विस्वासिलो नभएको कारण युनिसेफ नेपालसँग नयाँ मेशिन माग गरेको थियो ।
युनिसेफको आर्थिक सहयोगमा सञ्चालित खानेपानी तथा सरसफाई स्वच्छता कार्यक्रम (वास)का संयोजक जंगबहादुर रोकायाले हाल पानी परीक्षण गर्ने वाकटेक मेशिनसहित जनशक्तिलाई तालिम दिएपछि पानी परीक्षणमा सहज भएको बताउनुभयो ।
अब गाउँपालिकाका सबै वडाका बस्तीमा मेशिनसहित जनशक्ति पुगेर परीक्षण गरिने भएको छ । त्योसँगै गाउँपालिकाको स्वास्थ्य शाखाले अब नयाँ खानेपानी योजना निर्माण गर्दा पानीको अनिवार्य ल्याव परीक्षण पछि मात्र निर्माण गरिने जनाएको छ ।