सिमकोट । हुम्लाको सदरमुकाम सिमकोट सहित आसपासका क्षेत्रमा एक हप्तासम्मका लागि विद्युत सेवा बन्द हुने भएको छ । फर्बे ट्यांकीदेखि मुहानसम्मको नहर मर्मत गर्नुपर्ने भएपछि हिल्दुुम वितरण केन्द्रले एक हप्ताका लागि सिमकोटको विद्युत् सेवा बन्द गरेको हो ।
वितरण केन्द्रका अनुुसार नहर मर्मत गर्नुपर्ने भएपछि हिल्दुुम विद्युत् वितरण केन्द्रद्वारा आपूर्ति गर्दै आएको विद्युत् सेवा बुधबार दिउँसो देखि बन्द गरिएको छ । फर्बे ट्यांकीदेखि मुहानसम्मको नहर चुहिने समस्या आएपछि त्यसलाई मर्मत गर्ने कार्य सुरु भएकाले विद्युत् आपूर्ति बन्द गरिएको नेपाल विद्युत प्राधिकरणका प्रमुख साजन ऐडीले बताउनुभयो ।
नहरको मर्मत कार्य बुुधबारबाट सुुरु भएको र निर्माण कम्पनी पक्षलाई एक हप्ताभित्र सम्पन्न गर्न निर्देशन केन्द्रले दिएको उहाँले बताउनुभयो । यसबाट केन्द्रका दुुई हजारभन्दा बढी ग्राहक प्रत्यक्ष मर्कामा पर्नेका छन् ।
यसबाट सिमकोट र खार्पुनाथ गाउँपालिकाका सेवाग्राही मर्कामा परेका छन् । बुधबारदेखि सदरमुकाम सिमकोटका सरकारी तथा गैरसरकारी कार्यालयमा काम बन्द भएको छ भने विद्युतबाट काम गर्ने व्यवसाय पनि बन्द भएका छन् । यस्तै जिल्ला अस्पताल हुम्लामा विद्युत सेवा नहुँदा एक्सरे,भिडियो एक्सरे सेवा ठप्प भएको छ । वितरण केन्द्रका सेवा ग्राहीले हप्तादिनसम्म अन्धकारमा बस्दै आउनुपर्ने भएको छ । प्रत्येक वर्ष दशैंको मुखमा वितरण केन्द्रले मर्मतका लागि भन्दै विद्युत सेवा बन्द गर्दै आएको छ ।