सिमकोट । हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको वडा नम्बर ६ मा पर्ने हिमालपारीको गाउँको नामले चिनीने लिमीमा सार्वजनिक विदाको समयमा पनि निरन्तर पठनपाठन चलिरहेको छ । नेपालीहरुको महान चाड दसँै बेला पनि सामुदायिक विद्यालयमा पठनपाठन जारी रहन्छ भन्ने कुरा सहज रुपमा पत्याउन नसकिने हो । हिमालपारिको गाउँ लिमीका सामुदायिक विद्यालयमा दशैँ बिदामा पनि पढाइ सुचारु भइरहेको छ ।
बौद्ध धर्मावलम्बी लामा समुदायको बसोवास भएको लिमीमा दसँै नमानिने भएका कारण गाउँवासीको निर्णयअनुुसार नै हिजोआज विदाको समयमा पनि विद्यालय सञ्चालन भइरहेको छ । लिमीको हल्जी गाउँको सुनखानी आधारभूत विद्यालयका निजी श्रोतका शिक्षक छिरिङ मेण्टा तामाङले दशँै बिदामा विद्यालयमा पढाइ भइरहेको बताउनुभयो । लिमीबाहेक जिल्लाका अन्य सामुदायिक विद्यालय असोज १० गतेबाट दसैँ बिदा भइसकेका छन् ।
उक्त विद्यालयमा कक्षा पाँचसम्म अध्ययन हुँदै आएको र ४२ जना विद्यार्थी छन् । निजी र सरकारी गरी विद्यालयमा सात जना शिक्षक रहे पनि तीन जना सरकारी दरबन्दीका शिक्षक भने दसँै बिदामा घर गइसकेका छन् । चार जना निजी स्रोतका शिक्षकबाट विद्यालयमा पठनपाठन कार्य भइरहेको हो ।
लिमीकै अर्को गाउँ हल्जीको भृकुटी आधारभूत विद्यालयका शिक्षक फुुर्वा तण्डुत तामाङले पनि विद्यालय हाल सुुचारु रहेको बताउनुभयो । उहाँ निजी स्रोतको शिक्षक हुन् । उक्त विद्यालयमा पनि दरबन्दीका सरकारी शिक्षक दसँै बिदामा गइसकेका छन् । सो विद्यालयमा १२ जना विद्यार्थी छन् ।
लिमीका वडाध्यक्ष पाल्जोर तामाङले गाउँमा दसैँ नमनाउने भएका कारण विद्यालय बन्द नगरिएको बताउनुभयो । ती दुुबै गाउँमा सबै घरधुरी बौद्धधर्मावलम्बीको बसोवास रहेको छ । चाड नै नमान्ने भएका कारण विद्यालय बन्द गरेर पठनपाठन नगर्नुभन्दा दुुबै गाउँवासीको सामूहिक निर्णय गरेर विद्यालय सञ्चालन गरिएको वडाध्यक्षले बताउनुभयो ।
लिमीका विद्यालयमा अन्य सार्वजनिक बिदामा पनि पढाइ हुने गरेको छ । विद्यालयमा बिदा भनेकै उवा बाली छर्ने र थन्क्याउने समयमा मात्र १५–१५ दिन गरिन्छ । लोसारमा भने तीन दिन ती विद्यालय बन्द गर्ने गरिएको छ ।
लिमीका यी विद्यालयमा हिउँदको समय गरी निजी स्रोतका शिक्षकले वर्षमा ११ महिना पठनपाठन गर्ने गर्छन् । जबकि जिल्लाका अरु विद्यालय हिमाली जिल्ला भएको कारण पुुस १५ देखि फागुुन १ गतेसम्म हिउँदे बिदा गर्ने गरिन्छ । लिमीमा ऐनभन्दा खोलाको चैन ठूलो भन्ने मान्यतामा चल्ने गाउँ हुन् ।
हुम्ला जिल्लाभरी १ सय ५२ वटा विद्यालय छन । २७ वटा माध्यमिक विद्यालय ३१ निम्नमाध्यमिक र ९४ वटा आधारभुत विद्यालय रहेको शिक्षा विकास तथा समन्वय इकाइ हुम्लाका प्रमुख तिलक भट्टराईले बताउनुभयो ।