सिमकोट । हिमाली जिल्ला हुम्लामा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । भोली आइतबार मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आवश्यक गतिविधि तथा क्रियाकलापको कार्य अन्तिम चरणमा पुगेको छ । मतदानस्थल पुगेका कर्मचारी र सुरक्षाकर्मीले मतदानको आवश्यक तयारी गरिरहेका छन् ।
आज शनिवार साँझसम्म जिल्लाभर रहेका मतदान केन्द्रको सबै तयारी पुरा हुनुका साथै आजै सर्वदलिय बैठक बस्ने भएको निर्वाचन कार्यालय हुम्लाले जनाएको छ । निर्वाचनका लागि हुम्लामा ५८ मतदान स्थल, ५९ मतदान केन्द्र र एक अस्थायी मतदान केन्द्रमा चार सय कर्मचारी खटिएका छन् ।
मतदान स्थलमा निर्वाचन आयोगको ढाँचा अनुसार प्रवेश तथा बाहिर निस्कने द्धार, मतदाता उभिने घेराबारा, कर्मचारी बस्ने ठाउँ, गोप्य मतदान कक्ष, मत पेटिका राख्ने लगायतका संरचना बनाउने काम भइरहेको छ । गर्भवती एवं सुत्केरी, अशक्त बिरामी, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिका लागि अलग्गै ठाउँ बनाइने कालाशिल्ता आधारभूत विद्यालय सिमकोट मतदान केन्द्रकी मतदान अधिकृत राजन चन्दले बताउनुभयो ।
आज साँझसम्म मतदानस्थल पुगेका मतदान अधिकृत, सहायक मतदान अधिकृत लगायतको टोलीले मतदान स्थल क्षेत्रमा मदिरा निषेध, हातहतियार निषेध, चुनावी प्रचार–प्रसार निषेध एवं शान्ति भंग गर्न नहुने सुचना टाँस गर्दै निर्वाचनका लागि सर्वदलीय बैठक राखेर आचार संहिता बनाइसक्ने भएको बताइएको छ । निर्वाचन सामग्री सहितका कर्मचारी पठाइए लगत्तै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मत गणनास्थल निर्माण गरिएको छ ।
मतदानका लागि सुरक्षा व्यवस्था चुस्त पारिएको प्रशासनले जनाएको छ । जिल्ला सुरक्षा समितीले जिल्लाभर निर्वाचन लक्षित सुरक्षा योजना बनाएको छ । निर्वाचन स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न गर्न मतदान केन्द्रको संवेदनशीलता हेरी सुरक्षा व्यवस्था चुस्त पारिएको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताउनुभयो । निर्वाचनको सुरक्षार्थ एक हजार तीन सयको हाराहारीमा सुरक्षाकर्मी परिचालित भएका छन् । जिल्लामा २४ अतिसंवेदनशील, २२ संवेदनशील र १२ वटा सामान्य मतदान केन्द्रका रुपमा निर्धारण गरिएको छ ।