सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले पालिका माताहताका वडामा पूर्ण खोप सुनिश्चितता गर्न घरधुरी सर्वेक्षण अभियान सञ्चालन गरेको छ । पालिकाका ८ वटै वडामा खोप पाउने उमेर समूहका बालबालिकाले खोप तालिका अनुसार खोप पाए÷नपाएको सुनिश्चित गर्नका लागि अभियान थालिएको गाउँपालिका स्वास्थ्य संयोजक नर बहादुर भण्डारीले बताउनुभयो ।
हरेक वडाका घरधुरी सर्वेक्षणमार्फत खोप पाए÷नपाएको सर्वेक्षण गरिने गाउँपालिका स्वास्थ्य शाखा संयोजक भण्डारीले जानकारी दिनुभयो । यहाँ जन्मेदेखि एक वर्षमुनिका २६४ बालबालिका छन् । बालबालिकाको घरधुरी सर्वेक्षण पश्चात् खोप लगाउन छुटेका भेटिए खोपको दायरामा ल्याइने उहाँको भनाइछ । तालिकाअनुसार खोप लगाउने उमेरसमूहका सबै बालबालिकाले खोप लगाएपछि पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिनेछ। पूर्ण खोप सुनिश्चित र दिगोपनाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले हाल प्रत्येक वडाकाजनप्रतिनिधि,महिला स्वाथ्य स्वमसेविका र सरोकारवालासँग छलफल गरेर पूर्ण खोप अभियान सञ्चालन गरिएको संयोजक भण्डारीले बताउनुभयो ।
जन्मेदेखि एक बर्षसम्मका बालबालिकालाई विभिन्न १३ रोगविरुद्धका नौ खोप दिने गरिएको छ। हरेक स्वास्थ्य चौकी र खोप क्लिनिकमा तालिकाअनुसार खोप दिने गरिएकामा छुटेका भए यस अभियानमा निरन्तरता दिने बताइएको छ। पालिकाले पूर्ण खोप सुनिश्चितता घोषणा पश्चात् स्वास्थ्य कार्यालय हुम्लाले प्रमाणीकरणका लागि घरधुरी सर्वेक्षणसमेत गरिने छ।
आगामी वैशाख महिनामा पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्ने कार्यक्रम रहेको स्वास्थ्य संयोजक भण्डारीले बताउनुभयो । विसं २०७९ साल चैत १० गते बाट यो महिनाको अन्ति सातामा सिमकोट गाउँपालिकाले पूर्ण खोपयुक्त घोषणा गरिने भएकोेले सबै वडामा घरधुरी सर्वेक्षण अभियान सञ्चाल गरिएको बताइएको छ ।