सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको ताँजाकोट गाउँपालिकाले औलो रोगको नियन्त्रणका लागि औषधि छर्कने कार्य सुरु गरेको छ । गाउँपालिकाले सरोकारवाला पक्षको सहयोग र समन्वयमा लामखुट्टे भगाउने औषधि छर्कने कार्य सुरु गरेको हो ।
यो समयमा गर्मी बढेसँगै लामखुट्टे भित्रिने र औलो (मलेरिया) रोगका बिरामी देखिने भएका कारण त्यसलाई नियन्त्रण गर्न औषधि छर्कने कार्य सुरु गरिएको मैला स्वास्थ्य चौकीका संयोजक धनराज ढकालले बताउनुभयो । यो कार्यक्रम महामारी रोग नियन्त्रण महाशाखा (ईपिडिमियोलोजी) काठमाडौं, सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोग र गाउँपालिकाको समन्वयमा सुरु भएको संयोजक ढकालले बताउनुभयो ।
गत वर्ष ताँजाकोट गाउँपालिकामा सात जनामा औलो रोग देखिएको थियो । यो रोग साउन भदौ महिनामा बढी देखिने गर्छ । रोग नियन्त्रणको पूर्वतयारी स्वरूप गाउँपालिकाका पाँच वटै वडाका तीन हजार १५० घरधुरीको घर, शौचालय, गोठलगायतका स्थानमा औषधि छर्ने कार्य सुरु भइरहेको छ ।
१५ दिनभित्र सबैतिर औषधि छर्ने कार्य पूरा हुने उहाँको भनाइ छ । यसका लागि आठ जना स्वयम् सेवक स्पे मेशिनसहित परिचालन गरिएको छ । स्वयम् सेवकहरूले छर्कने औषधिको अनुगमन गर्न दुई जना सुपरभाइजर समेत परिचालन गरिएको छ । औषधि छर्कने स्वयम् सेवकका लागि एक दिने अभिमुखीकरण कार्यक्रम पनि सञ्चालन गरिएको थियो ।
औषधि छर्कने कार्य आगामी साउन भदौमा पनि पुनः गरिने भएको छ । साथै ती महिनामा औलो रोगका बिरामीहरूको स्वास्थ्य परीक्षण समेत हुनेछ । ताँजाकोट गाउँपालिकामा विगत छ वर्षदेखि औलो रोग देखा पर्दै आएको छ । गत वर्ष औषधि छर्कने र झुल वितरणको कार्यक्रम गाउँपालिकाले गर्नु परेको थियो । सन् २०२५ सम्म नेपाल सरकारको औलो रोग नियन्त्रण गर्ने लक्ष पूरा गर्न गाउँपालिकाले उक्त कार्यक्रम सञ्चालन गरी रहेको गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताउनुभयो ।